हेटौंडा अस्पतालमा एक आमा आफ्नो नवजात शिशुलाई स्तनपान गराउँदै ।

हेटौंडाः बच्चाको स्वास्थ्य र जीवन सुनिश्चित गर्न स्तनपान सबभन्दा प्रभावकारी उपाय हो । बच्चा जन्मेको १८० दिनसम्म विशेष स्तनपान गराउनुपर्छ । १८० दिनपछि आमाको दुधसगै अरु पुरक खानाहरु पनि दिनुपर्छ । त्यसपछि स्तनपानलाई २ वर्षसम्म निरन्तरता दिनुपर्छ । बच्चा तथा आमाका लागि स्तनपानबाट अनगिन्ती फाइदा हुन्छन् । स्तनपान शिशुको लागि पौष्टिक आहार हो । बच्चालाई स्तनपान गराउने त आमाले नै हो तर यसका लागि परिवारका सदस्य र श्रीमान्को सहयोग चाहिन्छ । रोगले ग्रसित, थकित आमाले राम्रोसँग स्तनपान गराउन सक्दैनन् । स्तनपानका यस्तै फाइदाबारे सचेतना अभिवृद्धि गर्ने गरी अंग्रेजी महिनाको अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।

अहिले विश्व स्तनपान सप्ताह चलिरहेको छ । यसै क्रममा हेटौडा अस्पतालमा प्रसुति सेवा लिनुभएकी हेटौंडा–१३ की बिनु लामाले आमाको दुध शिशुको लागि अमृत हो भन्ने बुझ्नु भएको छ । दोस्रो सन्तानकी आमा हुनुभएकी बिनुले आमाको दुधमा प्रोटिन प्रशस्त मात्रामा रहेकाले दुध खुवाउनुपर्ने बताउनुभयो । आमाको दुधले बच्चालाई विभिन्न रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्ने, बच्चाको माग अनुसार पटक–पटक दुध चुसाउनुपर्ने हेटौंडा अस्पतालमा प्रसुति सेवा लिनु भएकी हेटौंडा–५ की उर्मिला भ्लोनको भनाइ रहेको छ । त्यस्तै हेटौंडा–१० की नमूना श्रेष्ठले स्तनपान गराउने आमाले धेरै खाना खाने, सन्तुलित खाना खाने गर्नुपर्ने, आमाको दुध नै बच्चाका लागि राम्रो हुने बताउनुहुन्छ ।

यस वर्ष विश्व स्तनपान सप्ताहको ‘नारा स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने रहेको छ । आमाले आफ्नो शारीरिक सौन्दर्यमा हानी हुने गलत बुझाईका कारण केही समयअघिसम्म आफ्ना शिशुलाई स्तनपान गराउन डराउने गर्दथे । पछिल्लो समय स्तनपानको महत्वका बारेमा अधिकांश महिला जानकार छन् । यद्यपि कम उमेरमा आमा हुने, गर्भवती भएका बेला पर्याप्त ध्यान नपुर्‍याउदा सुत्केरी भएपछि आमाको पर्याप्त दुध नआउँदा नवजात शिशुले स्तनपानको अवसरबाट बञ्चित हुनुपर्ने अवस्था समेत आउने गरेको छ । स्तनपानलाई प्रोत्साहित गर्नकै लागि सरकारले सार्वजनिक निकायमा स्तनपान कक्ष व्यवस्थित रुपमा निर्माण गर्न निर्देशन समेत दिएको छ । मकवानपुर जिल्लाका कतिपय कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको छ । स्तनपानले शिशु र आमा दुबैलाई लाभ हुने चिकित्सकको भनाइ छ ।