हेटौँडा : बागमती प्रदेश सरकारले ५ सचिवहरुको पदस्थापन तथा सरुवा गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापन गरेको हो भने २ सचिवको जिम्मेवारी हेरफेर गरेर सरुवा गरेको हो ।
बैठकले संघीय सरकारबाट आएका बैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुषाललाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा झलकराम अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो । बैठकले सामाजिक विकास मन्त्रालयको सचिवमा हाल उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव विनु बज्राचार्य र सहकारी तथा गरिवी निवारण मन्त्रालयमा प्रदेशसभा सचिवालयमा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बैठकले उद्योग मन्त्रालय अन्तर्गत भूउपभोग परिषद् गठन गरी २ जना विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । जसमा तानसेन पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।
बैठकले बागमती प्रदेश विश्वविद्यालय संरक्षण समिति (बोर्ड अफ ट्रष्टी) को सदस्यमा नुवाकोटका रामप्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय गरेको छ भने प्रदेश उच्च शिक्षा परिषद्को पदेन सदस्यमा बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष चन्द्रमणि पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले स्थानीय तहसँगको समन्वय र मागका आधारमा विपद् स्वयमसेवक समुह गठन गर्न बजेट अख्तियारी दिने निर्णय गरेको छ । कुल १ करोड बजेट रहेको उक्त कार्यक्रम कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो । बैठकले आगामी आर्थिक वर्ष २०८२÷०८३ को वित्तीय समानीकरण अनुदान कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।










