
हेटौँडा : मकवानपुर महिला गोल्डकपको फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लब भिड्ने भएको छ । मंगलबार भएको सेमिफाइनल खेल जित्दै दुई विभागीय टोलीले उपाधि भिडन्त तय गरेको हो ।
मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले चितवन जिल्ला फुटबल संघलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । मंगलबार दिउँसो भएको सेमिफाइनल अन्तर्गतको दोस्रो खेलमा संकटा क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल बैशाख २५ गते बिहीबार हुनेछ ।
हेटौँडा–६ स्थित गौरीटार रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा संकटालाई २–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा रश्मि घिसिङले खेलको ७१ औं मिनेटमा र अनिता केसीले खेलको ७६ औं मिनेटमा गोल गरिन् । रश्मिले कप्तान अनिता बस्नेतको कर्नर प्रहारलाई हेडमार्फत गोल गरिन् । अनिताले पनि बस्नेतको असिस्टमा गोल गरेकी थिइन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी रेनुका नगरकोटी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । मंगलबार नै भएको समिफाइनल अन्तर्गतको पहिलो खेलमा पुलिसले पहिलो सेमिफाइनलमा चितवनलाई ७–० फराकिलो गोलान्तरले हराएको थियो । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।








