फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरका सामुदायिक विद्यालय तथा क्याम्पसहरुले कक्षा ११ को वार्षिक परीक्षा भदौ १० गतेबाट सञ्चालन गर्ने भएका छन् । सामुदायिक उच्च मावि समन्वय समिति मकवानपुरको शुक्रबार हेटौंडामा बसेको बैठकले भदौ १० गतेबाट विद्यालयले आन्तरिक रुपमा परीक्षा लिएर विद्यार्थीको नतीजा तयार पार्ने निर्णय भएको समन्वय समितिका सचिव एवम् हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविका प्रधानाध्यापक प्रवोध विडारीले जानकारी दिनुभएको छ ।

गत बैशाखमा परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले वार्षिक परीक्षा तालिका सार्वजनिक गरे पनि कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन घोषणा भएसँगै परीक्षा रोकिएको थियो । अझै कोरोना भाइरसको जोखिम कायमै रहेका कारण साविककै स्वरुपमा परीक्षा सञ्चालन गर्न सम्भव नभएका कारण सरकारले विद्यालयले आन्तरिक परीक्षा गरेर विद्यार्थीको मूल्यांकन गर्ने तयारी गरिएको छ ।
समन्वय समितिको बैठकले जिल्लाबाहिरबाट आउने विद्यार्थीको पीसीआर परीक्षण गरिदिन सम्बन्धित स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको समितिका संयोजक एवम् हेटौंडा–६ स्थित बंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिनुभएको छ । कोरोना भाइरसको संक्रमणको अवस्था अहिले भन्दा जटिल नभए परीक्षा सञ्चालन गरिने पनि संयोजक लामिछानेले बताउनुभयो । परीक्षा सुरक्षित ढंगबाट सञ्चालन गर्ने, भौतिक दुरी कायम राख्नुका साथै आवश्क सतर्कता अपनाइने संयोजक लामिछानेले स्पष्ट पार्नुभएको छ ।