हेटौँडा : मकवानपुर प्रहरीले अवैध रुपमा गाई र गोरु ढुवानी भएको भनी नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मंगलबार बिहान ५ बजेको समयमा हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख १२२० नम्बरको आइचर ट्रकलाई हेटौँडा–१० स्थित वन विज्ञान क्याम्पस अगाडिबाट नियन्त्रणमा लिएको जनाएको छ ।
सुरक्षाजाँच गर्ने क्रममा अवैध रुपमा गाई र गोरु ढुवानी भएको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गाई, गोरु ढुवानीका लागि आवश्यक कागजातहरु नभएको प्रहरीले जनाएको छ । प्रहरीले ८ वटा गाई र ७ वटा गोरु नियन्त्रणमा लिएको छ । ट्रक चालक ट्रक छाडेर भागेकोे प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका गाई, गोरु आवश्यक कारवाहीका लागि ट्रकसहित पशुसेवा कार्यालय हेटौँडा लगिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले गाई, गोरु नियन्त्रणमा लिन आनाकानी गरेपछि पशुसेवा कार्यालयले सशस्त्र प्रहरी बलको सहयोगमा अबै ढुवानी नियन्त्रणमा लिएको थियो ।