हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–११, थानाभर्याङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ । सोमबार राती ८ बजेको समयमा नवलपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ५२५२ नम्बरको फलाम लोड ट्रकले सोही दिशाबाट आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा नुवाकोट जिल्लाको तादी गाउँपालिका–६ घर भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेमा कार्यरत प्रहरी सहायक हवल्दार ३६ वर्षीय किरण श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याएकोमा राती ८ बजेर २५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा प्रहरीले जानकारी दिएको छ । ट्रक चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ का २४ वर्षीय रञ्जित कार्की नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।











