प्राडा विश्वराज जोशी, उपकुलपति, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

वाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा. विश्वराज जोशीलाई नियुक्त गरेको छ । बागमती प्रदेशको बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले जोशीलाई ४ वर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो । आज शुक्रबार दिउँसो जोशीले उपकुलपतिको सपथ ग्रहण गर्नुहुँदैछ भने प्रतिष्ठानको भावी योजनाहरु पनि पेश गर्दै हुनुहुन्छ । यसै सन्दर्भमा रहेर समृद्ध समाज दैनिकका संवाददाता सुसन लामिछानेले नवनियुक्त प्राडा विश्वराज जोशीसँग गर्नुभएको कुराकानीः

समाजः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त हुनभएको छ । यो नियुक्ति तपाईको रुचिको/अपेक्षाको विषय थियो कि प्रदेश सरकारले तपाईको नियुक्तिलाई आवश्यक ठान्यो ?
जोशीः अब यो दुवै कुरा सत्य हो । आफ्नै रुचि नभएको भए जबरजस्ती प्रदेश सरकारले गर्ने कुरै भएन । मेरो अहिलेसम्मको अनुभवको आधारमा काम गर्न सक्छ कि भनेर सायद छनौट गर्नुभएको होला ।

समाजः तपाईलाई नियुक्त गर्नुअघि प्रदेश सरकारका प्रतिनिधिसँग तपाईको के कस्ता विषयमा कुराकानी भएको छ ?
जोशीः त्यस्तो कुराकानी भएको त छैन । सामान्य नै हो । पहिले पनि वीर अस्पताल न्याम्समा पनि काम गरिसकेको भएर त्यहाँको अनुभव अहिले प्रदेशमा काम लाग्ने भएर होला ।

समाजः प्रदेश सरकारको मातहतमा रहने प्रतिष्ठान हाल स्थापित अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा फरक संरचनामा रहन्छ कि उस्तै प्रकृतिको स्थापित हुनेछ ?
जोशीः पहिलो कुरा हेटौंडाबासीलाई यो उपहार हो । प्रदेश सरकारले स्थापना गरेको पहिलो स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि हो । यसको संरचना ऐनले निर्देशन गरेको छ । प्रदेशलाई उपयुक्त हुने गरी ऐनले व्यवस्था गरेको छ । नयाँ सुरुवात हो प्रदेश सरकारले जिम्मेवारी लिएको । पदाधिकारी र कर्मचारी राख्ने कुरा ऐन अनुसार नै हुन्छ । संरचना नयाँ भनेर अन्य प्रतिष्ठानसँगै नमिल्ने भन्ने पनि होइन ।

समाजः स्वास्थ्य विज्ञान प्रतिष्ठान नेतृत्वको जिम्मेवारी तपाईले पं्राप्त गर्नुमा प्रदेश सरकारले तपाईमा के के त्यस्ता सवल पक्ष मूल्यांकन गर्‍यो भन्ने लाग्छ ?
जोशीः यो के छ भन्दा मूल्यांकन गर्‍यो भन्दा पनि काम सुरु गरेपछि मूल्यांकन गर्ने हो । अहिले भनेको त पहिले गरेको कामका आधारमा त मूल्यांकन भयो होला भन्ने लाग्छ ।

समाजः प्रतिष्ठान गठनको अहिलेसम्मको विकासक्रमलाई कसरी बुझनु भएको छ । साथै आगामी योजना के रहन्छ ?
जोशीः आगामी योजना आज सपथ ग्रहण पछि भन्नेछु । यो एउटा प्रदेश सरकारले सोचेर नै ऐन नियमावली निर्माण गरेको छ ।

प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी सम्हाल्न बागमती प्रदेश सरकारसँग तपाईको अपेक्षा के रहन्छ ?
जोशीः यसको प्रदेश सरकारले जिम्मेवारी लिएको छ । आर्थिक, सामाजिक लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार प्रत्यक्ष सहभागी छ । प्रदेश सरकारले आफ्नो लक्ष्य प्राप्तिका लागि उपकुलपति, अन्य पदाधिकारीबाट मेसिनरी जस्तै काम लिनुपर्छ भने यसको इन्जिन चलाउने काम चै मेरो विचारमा प्रदेश सरकार नै हो । अन्त्यमा हेटौंडाबासीहरुले पनि यो चाहि हाम्रो संस्था हो भन्ने महसुस गर्नुहुने अपेक्षा लिएको छु ।