नेपालमा दिन प्रतिदिन सवारी दुर्घटनाको जोखिम बढिरहेको छ । सडकमा गुड्ने विभिन्न प्रकारका सवारी साधन दुर्घटनाका कारण दैनिक एक दर्जनको हाराहारीमा मानिसले ज्यान गुमाइरहेका छन् । सवारी दुर्घटनाबाट व्यापकरुपमा जनधनको क्षति हुँदा पनि यसको न्यूनीकरणमा पर्याप्त ध्यान पुग्न सकेको देखिँदैन । हुन त सडक सञ्जाल र सवारी साधन वृद्धि हुँदै जाँदा सवारी दुर्घटनाको जोखिम बढ्नु स्वभाविक हो । तर, सडकलाई भरपर्दो र दुर्घटनामुक्त बनाएर सवारी दुर्घटनाको जोखिम कम गर्नु राज्यको दायित्व हो । सरकारले सडक यातायातलाई गुणस्तरीय, भरपर्दो र जोखिममुक्त बनाउन पर्याप्त ध्यान दिन नसक्दा, यातायात व्यवसायीले यात्रुको सुरक्षालाई भन्दा आम्दानी र नाफालाई बढी महत्व दिँदा र यात्रुले जसरी पनि गन्तव्यमा पुग्नैपर्छ भन्ने मान्यता राख्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको पाइन्छ ।

पछिल्ला दिनहरुमा मकवानपुर जिल्लामा पनि सवारी दुर्घटनाको क्रमले व्यापकता पाएको छ । हेटौंडा आसपास र जिल्लाका विभिन्न क्षेत्रका सडकखण्डमा सवारी दुर्घटना हुने क्रम बढेको छ । शुक्रबार रातिमात्र कान्तिलोकपथमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–२, धरमपानीमा विद्युतीय गाडी दुर्घटना हुँदा २ जना महिलाको मृत्यु र १४ जना घाइते भएका हुन् । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक विद्युतीय माइक्रो बसडकबाट करिव २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीमा यात्रु संख्या क्षमताभन्दा बढी रहेको र सडकबाट गाडी अनियन्त्रित भई खसेको हुनसक्ने अनुमान छ । बिहीबार विहान पनि मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका थिए । इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको थियो । बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मकवानपुर जिल्लासँग धेरै राजमार्ग र सडक सञ्जाल जोडिएका कारण सवारी दुर्घटना वृद्धि भइरहेको छ । बागमती प्रदेशको राजधानी भएपछि हेटौंडा बजार क्षेत्रमै पनि सवारी साधनको चाप वृद्धि भइरहेको छ । बढ्दो सवारी चापको तुलनामा नयाँ सडक निर्माण र भएका सडक विस्तारको काम खासै हुन सकेको छैन । मुख्य बजार क्षेत्र भएर जाने पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक चौडा बनाउने कुरा दशकौंदेखि चर्चामा मात्र सिमित बनिरहेको छ । मकवानपुर जिल्ला र हेटौंडा भएर महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ र मदन भण्डारी लोकमार्ग गएको छ । हेटौंडादेखि काठमाडौंसम्मको कान्तिलोकपथ, हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै संघीय राजधानी काठमाडौं जोड्ने विभिन्न ४ वटा सडक खण्ड तथा अन्य ग्रामीण सडकहरुमा प्रशस्त्र सवारी साधन गुड्ने गर्दछन् । पछिल्लो समय मदन भण्डारी लोकमार्ग र कान्ति लोकपथको मकवानपुर क्षेत्रमा साना ठूला सवारी साधन दुर्घटना हुने क्रम बढेको छ । यस्तै, भीमफेदी, कुलेखानी हुँदै काठमाडौं जाने छोटो दुरीको बाटोमा विद्युतीय साना यात्रुवाहक सवारी, टाटा सुमो र मोटरसाइकलको चाप निकै बढिरहेकाले दुर्घटनाको जोखिम पनि बढेको छ ।

सवारी साधन दुर्घटना शून्य बनाउन सकिँदैन । तर, सडकको गुणस्तर कायम राख्दै सवारी नियमको पालनामा जोड दिने हो भने दुर्घटना धेरै कम गर्न सकिन्छ । नेपालमा हुने अधिकांश दुर्घटना मानवीय कारणबाट हुने गरेको पाइन्छ । विशेषगरी चालकको लापरबाहीकै कारण बढी सवारी दुर्घटना हुने गरेको छ । दुर्घटनाको अन्य महत्वपूर्ण कारणमा सवारी साधनको यान्त्रिक गडबडी र सडकको अवस्थालाई मान्ने गरिएको छ । सरकारले सवारी सञ्चालनको अनुमति दिएका सडकलाई सवारी सञ्चालनयोग्य बनाउन पर्याप्त ध्यान दिनुपर्छ । समय समयमा सडकमा गुडेका सवारी साधनको यान्त्रिक परीक्षण गर्नुपर्छ । सवारी साधन चलाउँदा नियमको पालना गराउन नियमनकारी निकाय गम्भीर बन्न सकेमा सवारी दुर्घटनाको जोखिम कम गर्न सकिन्छ ।