प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका पदाधिकारी ।

हेटौँडा : यही बैशाख १९ गतेदेखि मकवानपुरमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो ।

संघले विगत ६ वर्षदेखि पुरुषतर्फ गोल्डकप गर्दै आएको प्रतियोगितालाई परिमार्जन गरेर महिला गोल्डकप आयोजना गर्न लागेको जनाएको छ । संघका महासचिव छवी सुवेदीका अनुसार हरेक वर्ष हुँदै आएको ‘सहीद स्मृति मकवानपुर राष्ट्रिय गोल्डकप’ यस पटक महिलातर्फ गर्ने तयारी गरिएको हो । पछिल्लो समय महिला फुटबलको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै महिला खेलाडीको प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

बैशाख १९ गतेदेखि गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । जसमा ३ विभागीय टिमसहित ५ वटा जिल्लाका क्लबले सहभागिता जनाउने छ । प्रतियोगितामा विभागीय टिमहरु नेपाल आर्मी, नेपाल पुलिस, एपिएफसहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराका क्लबले सहभागिता जनाउने संघका महासचिव सुवेदीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको प्रायोजकका रुपमा मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् लगायत स्थानीय संघ संस्था रहेका छन् । उहाँका अनुसार प्रतियोगिताका लागि खेलकुद विकास परिषद्ले २० लाख र हेटौंडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने छ ।