जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने क्रममा फोटो खिचाउँदै ।

हेटौँडा : मकवानपुर जिल्लामा नागरिकता लिने भन्दा राहदानी लिने नागरिकको संख्या बढी देखिएको छ । रोजगारीका लागि विदेशिने क्रम नरोकिँदा नागरिकता लिने भन्दा राहदानी लिनेको संख्या बढी भएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि अर्थात् २०८० माघदेखि चैत महिनाको अवधिमा ३ हजार ३ सय ३४ जनाले राहदानीका लागि सिफारिस लिँदा २ हजार ७ सय ६३ जनाले नयाँ नागरिकता लिएका छन् ।

यस्तै २०८० साल माघ महिनादेखि चैतसम्ममा १६ हजार ५ सय ६१ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । सरकारी कामकाजका साथै बैंक तथा वित्तीय संस्थामा हुने काममा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि स्थानीय प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउन आउनेको भीड बढेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलले जानकारी दिनुभयो । अहिले दैनिक २५० देखि ३०० को संख्यामा राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेको पौडेलले बताउनुभयो । राष्ट्रिय परिचयपत्र बनाउने क्रममा पुरानो नागरिकता मेटिएर, फुर्सो भएर कम्प्युटरले राम्रोसँग स्वीकार गर्ने अवस्था नहुँदा नागरिकताको प्रतिलिपि बनाउने क्रम पनि बढेको बताइएको छ । २०८० माघदेखि चैतसम्ममा नागरिकताको प्रतिलिपि नै २ हजार ६ सय ८० वटा जारी गरिएको छ ।

मकवानपुरबाट खाडी मुलुकमा रोजगारीका लागि जाने युवाको संख्या उल्लेख्य रहेको छ । २०८१ साउनदेखि पुस महिनासम्ममा देशका ६७ वटा जिल्लाका ६४५ जनाको मृत्यु भएको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाउको छ । बोर्डका अनुसार मृतकका हकवालालाई ४६ करोड ८६ लाख ५० हजार रुपैयाँ आर्थिक सहायकता वितरण गरेको छ । यसअवधिमा सबैभन्दा बढी मलेसियामा १६५ जना, साउदी अरबमा १४२ जना, युएईमा १३६ जना, कतारमा १०४ जना र कुवेतमा ३४ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका १३४६ जनाको मृत्यु भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा मकवानपुरबाट बैदेशिक रोजगारीमा गएका १० जनाको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । सबैभन्दा बढी सिरहा जिल्लाका ४१ जनाको मृत्यु भएको छ । बैदेशिक रोजगारीमा गएका ६६ जनाले आत्महत्या गरेका छन् । विरामी भएर ७१ जनाको मृत्यु हुँदा प्राकृतिक मृत्यु हुनेको संख्या ९२ रहेको छ भने हृदयघात भएर ५३ जनाको मृत्यु भएको छ ।