दुर्घटनाग्रस्त बोलेरो जीप ।

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–९, अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप बुधबार बिहान करिब ८ः१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो । ईलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्दार गरी मनहरी अस्पताल पठाएको थियो । बोलेरोमा चालकसहित ९ जना सवार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिल बहादुर घलान, ६५ वर्षीया फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्काको अवस्था गम्भीर रहेको छ । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

यसैगरी ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।