तस्वीरः गुगल ।

विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिरहेको र यसको निराकरण अनिश्चित भएको अवस्थामा सामाजिक, आर्थिक, सांस्कृतिक राजनैतिक आदि सबै क्षेत्रहरुमा निकै ठूलो बदलाव आउने देखिएको छ । मानिसहरूले नियमित रुपमा अपनाउँदै आएका विभिन्न बानी व्यवहारहरुका बारेमा पनि अबका दिनमा सोच्न बाध्य हुने स्थिति बनिरहेको छ । अर्थात् मानिसहरूले आफ्नो बानी व्यवहारलाई समीक्षा गर्नै पर्ने बेला पनि आएको छ । कोरोना कहरका कारण मानिसले विभिन्न कठिनाई मात्रै नभोगिकन यसबाट धेरै कुराहरु सिकिरहेका पनि छन् । भन्ने गरिन्छ कतिपय मानिसले समस्यामा पनि अवसर देख्छन् भने कतिपयले अवसरमा पनि समस्या देख्ने गर्दछन् । वास्तवमा कोरोना कहरको अवस्था पनि यस्तै नै हो । कोरोनाका कारण भएको बन्दाबन्दीका अवस्थामा मानिसहरुले कतिपय कुराहरुमा बदलाव ल्याइसकेका छन् भने र कतिपय कुराहरुमा बदलाव ल्याउने बारे सोचिरहेका छन् ।

चिरञ्जीवी लामिछाने

अनपेक्षित रुपमा संसारभर फैलिएको र यसको निदान पनि पत्ता नलागिसकेको अवस्थामा कोरोना कहरका कारण के कस्ता कुरामा परिवर्तन आएको र आउँदै गरेको छ भन्ने विषयमा यस आलेखमा सामान्य चर्चा गर्न खोजिएको छ ।

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा सामाजिक सम्बन्धहरुमा पनि कोरोना कहरले विभिन्न परिवर्तनहरु ल्याइसकेको र ल्याइरहेको अवस्था छ । मानिसहरूले सकेसम्म कम मानिससँग भेट्ने र नजिकको सम्बन्ध राख्ने कामको सुरुवात गरिसकेका छन् । कोरोना संक्रमण फैलनु अघिसम्म कुनै विशेष काम बिना पनि हार्दिकता वा निकटताको सम्बन्धका कारण भेटघाट वा कुराकानी गर्ने गरिएकोमा अहिले आएर कमी आइरहेको देख्न सकिन्छ । नौलो मानिसको त कुरै छाडौं आफूले नजिकबाट चिनेको मानिस पनि कतै टाढा पुगेर आएको थाहा पाएमा उसबाट संक्रमणको जोखिम बढ्ला कि भनेर सशङ्कित हुने अवस्था बनिसकेको छ । अझ कसैलाई कोरोना संक्रमण भएको वा कोेरोना संक्रमणबाट निको भएको वा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा गएको थाहा भएको छ भने त्यस व्यक्तिको प्रति गरिने व्यवहार र उसको नजिक पर्न नै नखोज्ने प्रवृत्ति पनि बढिरहेको छ । कतिपय सन्दर्भमा त यसरी थाहा भएका व्यक्तिको नजिक पुग्नु पर्ला भनेर आफू हिँड्ने बाटो नै बदलेको सम्म पाइएको छ । नचिनेका मानिसहरुलाई घरमा बास दिने कुरा त टाढाको कुरा भइसक्यो अब मानिसले नौला मानिसको नजिक गएर बोल्नलाई पनि सोच्नु पर्ने अवस्थामा पुगिसकेको छ । कोरोना संक्रमण सोचेअनुरुप नियन्त्रणमा आउन नसकेमा मानिसहरूले परिचयपत्र बोक्नुको सट्टा कोरोना संक्रमण नरहेको प्रमाणपत्र बोकेर हिँड्नुपर्ने अवस्था आउन बेर छैन ।

आर्थिक रुपमा हेर्ने हो भने पनि कोरोना संक्रमणले गर्दा मानिसको जनजीवनमा व्यापक फेरबदल ल्याइरहेको छ । आर्थिक तथ्याङ्कहरुलाई हेर्ने हो भने पनि यस विश्वव्यापी संक्रमणका कारण धेरै मानिसहरूको रोजगारी गुम्ने अवस्था छ । कम विकसित मुलुकका धेरै बालबालिकाहरु शिक्षाबाट बञ्चित हुने तथा गरिबीको अवस्थामा झनै वृद्धि हुने कुरा निश्चितप्रायः देखिन्छ । सानोतिनो व्यवसाय गर्ने, दैनिक ज्यालादारीमा काम गर्ने, निजी क्षेत्र तथा सानोतिनो व्यवसायमा कामदारका रुपमा काम गर्ने, भर्खरै व्यवसायको सुरुवात गरेका, धेरै ऋण लिएर कुनै कार्यको थालनी गरेका, आफ्नो जीविका चलाउने मानिसहरूको लागि यो संक्रमणको अवस्था साच्चि नै कहालीलाग्दो अवस्था बनिरहेको छ । बन्दाबन्दी खुकुलो भएसँगै व्यवसायीहरु विस्तारै विस्तारै पहिलेको जस्तै अवस्थामा फर्किएपनि बजार मूल्य भने पहिलाको अवस्थामा फर्की हाल्ने जस्तो देखिँदैन । अर्थात् बजार भाउको वर्तमान अवस्थालाई हेर्दा लाग्छ सबै मानिसहरू विशेषगरी निम्न र मध्यमवर्गीय मानिसहरुले पहिलेजस्तै गरी व्यक्ति तथा वस्तु तथा सेवाहरुको पहुँचमा पुग्न सहज छैन । यसै कहरको बीचमा अर्को सकारात्मक पाटो पनि देख्न सकिन्छ । त्यो के हो भने बन्दाबन्दीका अवस्थामा फुर्सदिलो भएका मानिसहरुले आफ्नो जग्गा जमिनमा पहिलेभन्दा बढी समय खर्च गरेर कृषि उत्पादन बढाउनमा योगदान गरिरहेका पाइन्छन् । कतिपय मानिसहरुले भने घरदैलोमै सामानहरु पुर्‍याउने व्यवस्था सुरु गरेर पनि यसबीचमा राम्रो आम्दानी गरिरहेका देखिन्छन् । अर्कातर्फ सजिलो मात्र नभई कोराना संक्रमणको जोखिम समेत नहुने भएकाले नगदमा गरिने धेरै कारोबारहरु अनलाइनबाट हुन थालेका छन् । प्रविधि प्रयोगको सन्दर्भमा हेर्दा यसलाई पनि एउटा राम्रो फड्कोका का रूपमा लिन सकिन्छ ।

सांस्कृतिक पाटोलाई हेर्ने हो भने पनि कोरोना संक्रमणको अवस्थाका कारण संस्कृति झल्किने विभिन्न कुराहरुको स्वरुप बदलिने अवस्था छ । धेरै मानिसहरु भेला भएर गरिने मेला, पर्व, जमघट, शुभकार्यहरु, नाचगानहरु आदि पनि आगामी दिनमा के कसरी गरिएला भन्ने अन्योल सुरु भएको छ । संक्रमण अनियन्त्रित रूपमा बढ्दै जाने हो भने यसको किनारा नलागुन्जेलसम्मका लागि यस्ता कार्यहरु आयोजना गर्न र त्यसमा सहभागी हुनका लागि मानिसहरु डराउनुपर्ने अवस्था आइरहेको छ । यसबाहेक मानिसले आफ्नो खानपान तथा अन्य जीवनशैलीमा पनि परिवर्तन गरिरहेको देख्न सकिन्छ । प्रतिरक्षा शक्ति कमजोर भएका व्यक्तिलाई कोरोना संक्रमणले सजिलै असर गर्न सक्छ भन्ने भएकाले मानिसहरु रोगप्रतिरोधी क्षमता बढाउने खालका खानेकुराहरू बाँकी जोड गरिरहेका देखिन्छन् । मानिसहरुका लागि मास्क एउटा अनिवार्य पहिरन बनिसकेको छ । अब भोलिका दिनमा फेशन डिजाइनिङमा समेत मास्कलाई समावेश गर्नैपर्ने अवस्था नआउला भन्न सकिन्न ।

यी सबै कुराहरुलाई नियाल्दा कोरोना कहरका कारण सबैभन्दा ठूलो असर मानिसहरूको मनोविज्ञानमा परेको देखिन्छ । सामान्य ज्वरो, रुघाखोकी लाग्दा पनि वा अन्य कोरोनाको लक्षण भनिएको मध्येको लक्षण देखिँनासाथ मानिसहरूले आफूलाई कोरोना नै लागिसक्यो कि भनेर मानिसहरु आतङ्कित भइरहेको पनि देख्न सकिन्छ । यसको संक्रमण दर निकै नै तीव्र हुने भएकाले पनि कोरोना भाइरस एउटा कमजोर प्रकृतिको भाइरस हो भन्ने मान्यतालाई मानिसहरूले स्वीकार गर्न सकिरहेका देखिँदैन । संक्रमण होला भन्ने आशंकाले मात्र नभई संक्रमणका कारण सिर्जित विभिन्न सामाजिक आर्थिक समस्याहरुका कारण पनि मानिसहरुमा विभिन्न किसिमका मनोवैज्ञानिक समस्याहरु देखा परिरहेका छन् । बाहिरबाट प्रत्यक्ष रुपमा देख्न नसकिने पाटो भएकाले मानिसको मनोविज्ञानभित्र यसले कसरी र कतिसम्म छाप पारेको छ भने अहिले नै पूर्ण रुपमा आँकलन गर्न भने गाह्रो हुन्छ । अहिलेको लागि मानिसले चिन्ता मात्र लिएर बस्ने भन्दा पनि समस्या भित्र सम्भावनाहरूको खोजी गरेर आफ्नो नियमित दैनिकीलाई बिस्तारै पहिलेको अवस्थामा फर्काउने कोसिस गर्नु नै उपयुक्त देखिन्छ ।

यतिधेरै भयावह रुपमा विश्वव्यापी स्तरमा सरुवा रोगजन्य महामारीको सन्त्रास फैलिएको यो पहिलोपटक हो । यसबीचमा व्यक्ति, परिवार, समाज राष्ट्र लगायत विभिन्न सम्बन्धहरुमा नसोचेका उतारचढावहरू आएका छन् । मानिसको जीवनका विविध पाटाहरुलाई पनि यसले अनपेक्षित रुपमा प्रभाव पारेको छ । त्यसकै फलस्वरुप मानिसका बानी व्यवहारहरु समेत विविध किसिमले बदलाव आइरहेको वा आइसकेको अवस्था देखिएको छ । भोलिका दिनमा अझ के–कस्तो परिवर्तनहरू देखिने हो भन्ने चाहिँ अझै हेर्न बाँकी नै छ ।