हेटौँडा : नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको ५५ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । जिल्ला सभापति लालबहादुर थापाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्ष भोलानाथ रुपाखेतीको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
साधारणसभामा मन्तव्य राख्नुहुँदै अध्यक्ष रुपाखेतीले २०५२ सालबाट २०६२/६३ को जनआन्दोलनपछि रेडक्रमको महत्व र चिन्हको मर्यादा रह्यो कि रहेन भन्ने विषयमा समस्या रहेकाले समीक्षा हुनु आवश्यक भएको बताउनुभयो । रेडक्रसको टोपी खल्तीमा खुम्चाएर हिँड्नु पर्ने अवस्थामा रहेको उहाँको भनाई छ । खेल्ने तत्वहरु बाहिर सक्रिय रहँदा नेपाल रेडक्रस सोसाइटी दुईवटा केन्द्रीय समिति बनेर रेडक्रस विभाजित हुने अवस्थामा पुगेको समेत उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरकी मन्त्री सुमित्रा काफ्लेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै रेडक्रसको कार्यक्रमप्रति समुदायको अपनत्वको भावनाको विकास र दिगोपनाको लागि आगामी वर्ष १० वटै स्थानीय तह, जिल्ला समन्वय समिति र सरकारी निकायहरुसँगको समन्वय र सहकार्य गर्ने कार्यनीतिलाई अझै प्रभावकारी बनाई निरन्तरता दिने जानकारी दिनुभयो । जिल्ला शाखाहरुबाट वितरण गरिँदै आइरहेको राहत वितरण सेवालाई सबैैै स्थानीय तह अन्तर्गत उपशाखाको नेतृत्वमा वितरण गर्ने व्यवस्था मिलाउने, रक्त संचार सेवा र आपतकालिन अवस्थामा प्राथमिक उपचार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाइने र एम्बुलेन्स सेवालाई थप स्तरीय तथा प्रभावकारी ढंगले सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो । कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनको पारदर्शी मापदण्ड तयार गरी कार्यसम्पादन उत्कृष्ट भएका कर्मचारीलाई प्रोत्साहन तथा पुरस्कृत गरिने, समय समयमा रक्तदाता उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने, सम्मान कार्यक्रम सञ्चालन गरी समसामयिक सुधार गर्ने र गुनासो व्यवस्थापन गर्ने कार्यलाई प्रभावकारी बनाइनेमा मन्त्री काफ्लेले जोड दिनुभयो ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी मकवानपुरका कोषाध्यक्ष किशोर बर्तौलाले आयव्यय विवरण प्रस्ततु गर्नुभयो । आर्थिक वर्ष २०८०/८१ को १ करोड २४ लाख ३५ हजार रुपैयाँ आम्दानी भएको र १ करोड ६ लाख ७ हजार रुपैयाँ खर्च भएको कोषाध्यक्ष बर्तौलाले जानकारी दिनुभयो ।