शुक्रबार सार्वजनिक भएको मनहरी गाउँपालिकाको आधारभूत तहको वार्षिक परीक्षाको नतीजा ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकाले आधारभूत तह (कक्षा–८) को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । आधारभूत तह कक्षा–८ को परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार शुक्रबार सार्वजनिक गरेको नतीजामा जीपीए १.६ भन्दामाथि प्राप्ताङ्क हासिल गर्दै ४ सय ५४ जना (५९.८२ प्रतिशत) विद्यार्थी कक्षा–९ मा अध्ययन गर्न योग्य भएका छन् भने ३०५ जना विद्यार्थी १.६ जीपीए भन्दा कम प्राप्ताङ्कसहित ननग्रेडेड भएका छन् ।

मनहरी गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालय र ४ वटा निजी विद्यालय गरी १८ वटा विद्यालयबाट कक्षा–८ को वार्षिक परीक्षामा विद्यार्थी सहभागी भएका थिए । सार्वजनिक भएको नतीजाअनुसार ३९ जना विद्यार्थीले जीपीए ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् । जीपीए ३.२ देखि ३.६ हासिल गर्ने विद्यार्थी १ सय ६ जना रहेका छन् भने जीपीए २.८ देखि ३.२ हासिल गर्ने विद्यार्थी १ सय ६४ जना रहेका छन् । यस्तै जीपीए २.४ देखि २.८ हासिल गर्ने १ सय २४ जना, जीपीए २ देखि २.४ हासिल गर्ने विद्यार्थीको संख्या २१ रहेको छ ।

गत वर्षको तुलनामा यस वर्ष ८ कक्षाको परीक्षाको नतीजामा सुधार आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । यस वर्ष परीक्षालाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउने प्रयास गरिएको उहाँको भनाइ छ । यस वर्ष कक्षा–८ को वार्षिक परीक्षामा परीक्षा केन्द्रमा फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष र निरीक्षक तोकिएको, विज्ञ जनशक्तिमार्फत गुणस्तरीय प्रश्नपत्र निर्माण गरिएको, उत्तरपुस्तिका पालिकामै परीक्षण गराएको, परीक्षण गरिएका सबै उत्तरपुस्तिका समपरीक्षण गरिएको पराजुलीको भनाइ छ । केही विद्यालयको नतीजा कमजोर देखिए पनि केहीको राम्रो रहेको र समग्रमा नतीजामा सुधार आएको पराजुलीले दावी गर्नुभयो ।

मनहरी गाउँपालिकाको युनिभर्सल लर्निङ एकेडेमी र रेड एन्जल एकेडेमीका शत्प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सीता मावि, पशुपतिनाथ मावि र महेन्द्र ज्योति माविको नतीजा कमजोर देखिएको छ । युनिभर्सलबाट २४ जना र रेड एन्जलबाट १५ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका थिए । सीता माविबाट परीक्षामा सहभागी भएका ४० जना विद्यार्थी मध्ये ५ जना (१२.५ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् भने पशुपतिनाथ माविबाट परीक्षामा सहभागी भएका ७१ जना विद्यार्थी मध्ये १७ जना (२४ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यस्तै महेन्द्रज्योति माविबाट ३४ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये ८ जना (१३.५३ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

आधारभूत तह परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले शुक्रबार प्रकाशित नतीजाअनुसार कुनै विषयको नतीजा चित्त नबुझे नतीजा प्रकाशन भएको मितिले एक साताभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने जनाएको छ । पुनर्योगका लागि प्रतिविषय एक सय रुपैयाँ दस्तुर लाग्ने जनाइएको छ । साथै मनहरी गाउँपालिकाले एक विषयमा ननग्रेडेड भएको भए मौका परीक्षाको अवसर प्रदान गर्ने जनाएको छ । यसरी ग्रेडवृद्धिको मौका परीक्षा दिन चाहने विद्यार्थीले बैशाख ३ गतेभित्र आवेदन दिनुपर्नेछ । ग्रेडवृद्धि परीक्षा आगामी बैशाख ७ गते दिउँसो १ बजेदेखि राष्ट्रिय रोटरी माविमा हुनेछ ।