हेटौँडा : स्वतन्त्र पत्रकार संघ मकवानपुरले सार्वजनिक चासोको विषयमा बहसलाई निरन्तरता दिने भएको छ । चैत १४ गते पहिलो बहसको रुपमा ‘मकवानपुरे पत्रकारितामा नयाँ पुस्ता : चुनौति, अवसर र तयारी’ शीर्षकमा बहस सञ्चालन गरेको संघले आगामी दिनमा पनि बहसलाई निरन्तरता दिने निर्णय गरेको हो ।
शुक्रबार नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमसँगै आगामी योजनाका विषयमा संघले छलफल गरेको थियो । स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरेको अध्यक्षतामा बसेको बैठकले बैशाख महिनामा विद्यालय तहको नयाँ शैक्षिक सत्रको सन्दर्भमा छलफल गर्ने निर्णय समेत गरेको छ । सार्वजनिक शिक्षामा सुधारको उद्देश्यसहित सरोकारवालासँग बहस गर्ने निर्णय गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ । पहिलो बहस सान्दर्भिक र सरोकारवालाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्नुहुँदै घिमिरेले आगामी दिनमा पनि बहसलाई नियमित गर्ने निर्णय भएको बताउनुभयो ।
सान्दर्भिक विषयमा सरोकारवालाबीचको बहसले सकारात्मक निश्कर्ष निस्कने र सरोकारवालालाई जिम्मेवार बनाउन पनि सहयोग पुग्ने अपेक्षा संघले लिएको अध्यक्ष घिमिरेको भनाइ छ । महिनाको एउटा बहस सञ्चालन गर्ने योजना बनाएको उहाँले बताउनुभयो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ केन्द्रीय समितिका उपमहासचिव एवम् मकवानपुर जिल्लाका संस्थापक अध्यक्ष सुरेश श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ मकवानपुरका निवर्तमान अध्यक्ष गोकुल अधिकारीको पनि आतिथ्य रहेको थियो ।