हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीले प्रकाशन गरेको साहित्यिक पत्रिका ‘सिर्जना संसार’ विमोचन गरिएको छ । होटल म्यानेजमेन्ट विषयका संयोजक राजिव कर्णको अध्यक्षता तथा सहायक प्रिन्सीपल रामपण्डित खनालको प्रमुख आतिथ्यमा विमोचन समारोह भएको हो ।
विद्यार्थीको रचनात्मक पक्षलाई उजागर गर्ने उद्देश्यले पत्रिका प्रकाशन गरिएको अंग्रेजी विषय शिक्षक अमुल श्रेष्ठले जानकारी दिनुभयो । पत्रिकामा विद्यार्थी र प्राध्यापकले आफ्ना विचारप्रधान लेख, कविता, संस्करण, निबन्ध प्रकाशन गरेका छन् । विमोचन गरिएको पत्रिकाको समीक्षा नेपाली विषयका शिक्षक रामबाबु थापाले गर्नुभएको थियो ।