
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले ८ कक्षाको पालिकास्तरीय परीक्षाको नतीजा सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आधारभूत तह परीक्षा समितिले बुधबार साँझ नतीजा सार्वजनिक गरेको हो । परीक्षाको नतीजा उपमहानगरपालिकाको वेभसाइटमा सार्वजनिक गरिएको छ ।
परीक्षा समितिले सार्वजनिक गरेको नतीजाअनुसार परीक्षामा सहभागी ४ हजार २९ जना विद्यार्थी मध्ये ५ सय ३७ जना विद्यार्थी ननग्रेडेड भएका छन् । ननग्रेडेड विद्यार्थीले पुनः ८ कक्षामै भर्ना हुनुपर्नेछ । ५ सय २३ जना विद्यार्थीले जीपीए ३.६ देखि ४ जीपीए हासिल गरेका छन् भने १ हजार ११ जना विद्यार्थीले ३.२ जीपीएदेखि ३.६ जीपीए हासिल गरेका छन् । १ हजार ९८ जना विद्यार्थीले २.८ जीपीएदेखि ३.२ जीपीए हासिल गरेका छन् । यस्तै ७ सय १६ जना विद्यार्थीलदे २.४ जीपीएदेखि २.८ जीपीए हासिल गरेका छन् भने २ जीपीएदेखि २.४ जीपीए हासिल गर्ने विद्यार्थी १ सय ४४ जना रहेका छन् ।
वार्षिक परीक्षाको नतीजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि निवदेन दिन सक्ने हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत हरिचन्द्र सापकोटाले जानकारी दिनुभयो । पुनर्योगका लागि विद्यार्थीले निवेदन दिन सक्ने भनिए पनि कहिले र कसरी निवेदन दिन सकिनेछ भन्ने विषयमा परीक्षा समिति र उपमहानगरको शिक्षा विकास महाशाखाले यकिन गर्न सकेको छैन । सामान्यतः नतीजा सार्वजनिक गर्ने क्रममै पुनर्योगको अवसर र प्रक्रियाका बारेमा जानकारी गराउनुपर्ने थियो ।
कक्षा–८ को वार्षिक परीक्षा चैत ७ गतेबाट सुरु भएर चैत १४ गते सकिएको थियो । हेटौँडा उपमहानगरपालिकाका ८४ वटा विद्यालयबाट कक्षा–८ को वार्षिक परीक्षामा विद्यार्थी सहभागी भएका थिए ।