हेटौँडा : हेटौँडा–१८ हर्नामाडीका २९ वर्षीय विमल ढुंगाना मृत भेटिएका छन् ।
बुधबार राती ९ बजेर ३० मिनेटको समयमा हेटौँडा–सिन्धुली सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–३, चिसापानी बजारमा बस दुर्घटनामा परी सामान्य घाइते भएका ढुंगाना हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएसँगै डिस्चार्ज भएर हेटौँडा–११, नवलपुरस्थित उदय हटुवालको घरमा बास बसेका थिए । भीमफेदी गाउँपालिकामा पशु प्राविधिकको रुपमा कार्यरत ढुंगाना भीमफेदी गाउँपालिकाको भ्रमणबाट फर्कने क्रममा दुर्घटनामा परेका थिए ।
दुर्घटनामा ढुंगानासहित ३१ जना घाइते भएका थिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । भ्रमणका लागि लगिएको बस ढुंगानाको स्वामित्वमा रहेकाले दुर्घटना भएसँगै तनावमा देखिएको थियो । भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदय हटुवाल बुधबार राती दुर्घटनामा घाइतेहरुको उपचारका लागि सहयोग गर्न भनी हेटौँडाका विभिन्न अस्पताल पुगेको र उपचारपछि डिस्चार्ज भएका ढुंगानासहित केहीलाई हेटौँडा–११, नवलपुरस्थित आफ्नै घरमा लगेर राखेकोमा बिहान ढुंगाना भने मृत भेटिएका हुन् ।
ढुंगाना कोठामा झुण्डिएर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रवक्ता अर्यालका अनुसार ढुंगानाको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।