Home मुख्य समाचार हेटौँडाको पालिकास्तरीय परीक्षाको नतीजा सार्वजनिक, ५३७ विद्यार्थी ननग्रेडेड

हेटौँडाको पालिकास्तरीय परीक्षाको नतीजा सार्वजनिक, ५३७ विद्यार्थी ननग्रेडेड

हेटौँडा उपमहानगरपालिकाको आधारभूत तह परीक्षा समितिले नतीजा सार्वजनिक गरेको विषयमा जानकारी दिन प्रकाशित गरेको सूचना ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले ८ कक्षाको पालिकास्तरीय परीक्षाको नतीजा सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आधारभूत तह परीक्षा समितिले बुधबार साँझ नतीजा सार्वजनिक गरेको हो । परीक्षाको नतीजा उपमहानगरपालिकाको वेभसाइटमा सार्वजनिक गरिएको छ ।

परीक्षा समितिले सार्वजनिक गरेको नतीजाअनुसार परीक्षामा सहभागी ४ हजार २९ जना विद्यार्थी मध्ये ५ सय ३७ जना विद्यार्थी ननग्रेडेड भएका छन् । ननग्रेडेड विद्यार्थीले पुनः ८ कक्षामै भर्ना हुनुपर्नेछ । ५ सय २३ जना विद्यार्थीले जीपीए ३.६ देखि ४ जीपीए हासिल गरेका छन् भने १ हजार ११ जना विद्यार्थीले ३.२ जीपीएदेखि ३.६ जीपीए हासिल गरेका छन् । १ हजार ९८ जना विद्यार्थीले २.८ जीपीएदेखि ३.२ जीपीए हासिल गरेका छन् । यस्तै ७ सय १६ जना विद्यार्थीलदे २.४ जीपीएदेखि २.८ जीपीए हासिल गरेका छन् भने २ जीपीएदेखि २.४ जीपीए हासिल गर्ने विद्यार्थी १ सय ४४ जना रहेका छन् ।

वार्षिक परीक्षाको नतीजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि निवदेन दिन सक्ने हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत हरिचन्द्र सापकोटाले जानकारी दिनुभयो । पुनर्योगका लागि विद्यार्थीले निवेदन दिन सक्ने भनिए पनि कहिले र कसरी निवेदन दिन सकिनेछ भन्ने विषयमा परीक्षा समिति र उपमहानगरको शिक्षा विकास महाशाखाले यकिन गर्न सकेको छैन । सामान्यतः नतीजा सार्वजनिक गर्ने क्रममै पुनर्योगको अवसर र प्रक्रियाका बारेमा जानकारी गराउनुपर्ने थियो ।

कक्षा–८ को वार्षिक परीक्षा चैत ७ गतेबाट सुरु भएर चैत १४ गते सकिएको थियो । हेटौँडा उपमहानगरपालिकाका ८४ वटा विद्यालयबाट कक्षा–८ को वार्षिक परीक्षामा विद्यार्थी सहभागी भएका थिए ।

Exit mobile version