Home मुख्य समाचार एक हजार विद्यार्थी पुर्‍याउने लक्ष्यसहित श्रमिक माविले सुरु गर्‍यो भर्ना अभियान

एक हजार विद्यार्थी पुर्‍याउने लक्ष्यसहित श्रमिक माविले सुरु गर्‍यो भर्ना अभियान

विद्यार्थी भर्ना अभियानका क्रममा घरदैलो पुगेर छलफलपछि बालबालिकासँग फोटो खिचाउँदै ।

हेटौँडा ः आगामी शैक्षिक सत्रमा विद्यार्थी संख्या एक हजार पुर्‍याउने लक्ष्यसहित हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले नयाँ शैक्षिकसत्र २०८२ का लागि भर्ना अभियान सुरु गरेको छ । वार्षिक परीक्षा सकिएलगत्तै सोमबारदेखि विद्यालयले भर्ना अभियानअन्तर्गत आफ्नो सेवाक्षेत्रमा घरदैलो गर्न सुरु गरेको छ ।

विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालको नेतृत्वमा सोमबार कर्रा, गर्दोई, कमलडाँडा क्षेत्रमा घरदैलो गरेको छ । आगामी शैक्षिकसत्रमा नेपाली माध्यममा एक सय र अंग्रेजी माध्यममा दुई सयको हाराहारीमा नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको प्रधानाध्यापक दाहालले जानकारी दिनुभएको छ । चालु शैक्षिक सत्रको वार्षिक परीक्षामा छ सय ५० भन्दा बढी संख्यामा विद्यार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो । वार्षिक परीक्षाको नतीजा चैत २९ गते सार्वजनिक गरिने प्रधानाध्यापक दहालले जानकारी दिनुभएको छ ।

विद्यार्थी भर्ना गर्न आव्हानसहितको हातेपर्चा अध्ययन गर्दै एक अभिभावक ।

पछिल्लो समय अभिभावकको विश्वास बढ्दै गएकोले यस वर्ष विद्यार्थी संख्या एक हजार पुर्‍याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । भर्ना अभियानअन्तर्गत नै विद्यालयले आज मंगलबार सरोकारवालासँग अन्तरक्रिया गर्दैछ । विद्यालयका क्रियाकलाप, उपलब्धी, आगामी योजनाका बारेमा जानकारी गराउनुका साथै गुनासा, सल्लाह, सुझाव सुन्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको प्रधानाध्यापक दहालको भनाइ छ । अन्तरक्रियामा स्थानीय, राजनीतिक एवम् सामाजिक व्यक्तित्व, पूर्वविद्यार्थीलाई सहभागी हुन आव्हान गरिएको प्रधानाध्यापक दाहालले बताउनुभयो ।

घरदैलो अभियानका क्रममा अभिभावकलाई विद्यालयको विषयमा जानकारी गराउँदै आफ्ना बाबुनानी भर्ना गराउन चाहने अभिभावकको नाम टिपोट समेत गरिएको छ । श्रमिक माविमा अहिले ९ कक्षासम्म नेपाली र अंग्रेजी दुबै माध्यममा पठनपाठन भइरहेको र शैक्षिकसत्र २०८३ देखि १० कक्षासम्मै अंग्रेजी माध्यममा पठनपाठन हुने प्रधानाध्यापक दहालले जानकारी दिनुभयो । विद्यार्थीको चाप बढ्दो क्रममा रहेको र नयाँ शैक्षिक भवन पनि निर्माणाधिन रहेकोले शैक्षिक सत्र २०८३ देखि विद्यार्थी संख्या एक हजार भन्दा बढी बनाउन सकिने प्रधानाध्यापक दहालले बताउनुभयो ।

विद्यार्थी भर्ना गराउन चाहने अभिभावकको नाम र सम्पर्क नम्बर टिपोट गर्नुहुँदै शिक्षक ।
Exit mobile version