हेटौंडाः ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिले सोमबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
ऋण लगानी, असुली र कानुन कार्यान्वयनमा देखिएका समस्याका बारेमा अन्तरक्रिया कार्यक्रम अयोजना गरिएको छ । सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षता तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशका मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रदेश सहकारी राजिष्ट्रार कुमार तामाङले ऋण लगानी, असुली, कानुनी अड्चन र समस्याबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहकारी दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम हुँदैछ ।
बुधबार र्याली, प्रवचन, पुरस्कार, सम्मान वितरण गर्दै दीप प्रज्वलन कार्यक्रम गरेर दिवस मनाउने भएको छ । सहकारी दिवसको अवसरमा सहकारी संघसंस्थाले कार्यालयमा ‘मर्यादित सहकारीः सम्मुन्नत समाज’ नारासहित ब्यानर राखेका छन् ।

नेपालमा प्रत्येक वर्ष तैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । विसं २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना गरेर सहकारीको सुरुवात भएको स्मरण गर्दै राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।