कक्षा सञ्चालन हुनु पर्ने विद्यालय यतिबेला अस्थायी अस्पताल बनेका छन् । कोभिड–१९ का विरामी तथा बाहिरबाट आएकाहरुलाई देशका विभिन्न विद्यालयहरुमा राखिएको छ । कोभिडबाट संक्रमितहरुलाई घरपरिवार तथा समुदायबाट अलग राख्न विद्यालयहरु प्रयोग गर्नु राज्यको बाध्यता नै हो । अस्थायी रुपमा निर्माण गरिने अन्य भौतिक पूर्वाधार भन्दा विद्यालय भवन उपयोगी भएका छन् । अन्य सरकारी संरचनाले नपुगेको अवस्था र स्थानहरुमा विद्यालय भवनको प्रयोग भएको छ । भौगोलिक अवस्थादेखि सेवा सुविधाका दृष्टिकोणले उपयोगी हुने विद्यालयहरु कोभिडका सन्दर्भमा प्रयोग गरेको पाइन्छ । यसरी प्रयोग भएका स्थानमा विद्यालयको प्रशासनिक काम समेत रोकिएको छ । जसले एसईईको नतिजाका लागि विद्यार्थीको नतिजाको रेकर्डसमेत पठाउन समस्या भएको छ ।
सरकारले लकडाउन खुकुलो बनाए सँगै भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियानका लागि अनुमति दिएको छ । तर कोभिडका लागि प्रयोग भएका विद्यालयहरुले शैक्षिक गतिविधि सन्चालनका लागि सम्भव देखिँदैन । भर्ना सञ्चालन गर्नका लागि पहिला क्वारेन्टिन र आईसोलेसनहरु हटाउन आवश्यक छ । त्यसपछि विद्यालय र सो क्षेत्रलाई निसंक्रमण गर्नु अनिवार्य हुन्छ । विद्यालय परिषरलाई संक्रमणमुक्त बनाए पनि अभिभावकहरुले तत्काल आफ्ना बालबालिकालाई पठाउन सहज मान्ने अवस्था छैन । त्यसैले निसंक्रमण गरेपछि पनि विद्यालयमा शैक्षिक गतिविधि सहज गराउन निश्चित समय पर्खनु आवश्यक हुन्छ । शैक्षिक गतिविधि सञ्चालन गर्नु भन्दै १०÷१५ दिन पहिलाबाटै विद्यालय खाली गरिनु पर्नेछ । तसर्थ विद्यालयमा सञ्चालन भएका आईसोलेसन र क्वारेन्टिनका लागि विकल्प खोज्न ढिलो गर्नु हुँदैन ।
नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरले पनि विद्यालयबाट आइसोलेसन र क्वारेन्टिन हटाउन अनुरोध गरेको छ । अभिभावकहरुको मनोभावना अनुसार संघले अनुरोध गरेको पाइन्छ । विद्यालयमा सञ्चालन भएका कोरोना आईसोलेसन र क्वारेन्टिनहरुलाई अन्यत्र सार्न सरकारलाई सहज छैन । सेवा सुविधा र सुरक्षाको दृष्टिकोणबाट अन्य भौतिक पूर्वाधारको अभावमा विद्यालयहरु प्रयोग भएका थिए । तर विद्यालयहरु सधैं प्रयोग गर्न सक्ने अवस्था हुँदैन भन्ने पूर्व जानकारी हुँदा पनि विकल्प नखोज्नु सम्बन्धित पक्षको कमजोरी हो । उनीहरुको लापर्वाहीको सजाय बालबालिकाहरुले भोग्नु पर्ने अवस्था आउन नदिन छिटो भन्दा छिटो अर्को व्यवस्थापन गरिनु आवश्यक छ । विद्यालयमा पठनपाठनको वातावरण बनाउनुको विकल्प छैन । उच्च सतर्कताका साथ विद्यालय सञ्चालन गरिनुपर्दछ ।
कोभिडको जोखिम यथावत रहे पनि पछिल्लो समयमा अन्य सबै क्षेत्र सुचारु भएको अवस्था छ । त्यसैले विद्यालय मात्र बन्द राख्नुको औचित्य छैन । कोभिडसँगै जीवनयापनको शैली विकास गर्नु पर्ने भएकाले होसियारीपूर्वक सामाजिक वतावरण सहज बनाउनु पर्दछ । अभिभावकहरुले नानीहरुलाई विशेष प्रशिक्षित गर्नु पर्दछ भने विद्यालय परिसर दैनिक रुपमा निसंक्रमित हुनै पर्दछ । यस्तै विद्यालयमा नानीहरुको पढाई, बसाई र खेलाईको वातावरणमा उचित ध्यान दिनु पर्ने देखिन्छ । विद्यालयमा नानीहरु पठाउँदा शुल्कको विषयमा पनि स्पष्ट हुन आवश्यक छ । पठाई नै नभएको अवधिको शुल्कका सम्बन्धमा स्पष्ट हुनु पर्दछ । विद्यालय र स्थानीय तहहरुले स्पष्ट नीति र योजना बनाउन आवश्यक छ । साथै अभिभावक संघले पनि बोलिदिनु पर्ने देखिन्छ ।