हेटौंडाः नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको टिम नेपाल पुलिस क्लबसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ९३ रनले हराएको हो । लिग चरणको छैठौं खेल सक्किँदा बागमती प्रदेशले ४ खेल हारेको छ भने २ खेल मात्रै जितेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो । नेपाल पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ८८ रन बनाए । ९८ बलको सामना गरेका कुशलले ११ चौका प्रहार गरेका थिए । पहिलो विकेटका लागि कुशल र अमित श्रेष्ठले १२४ रनको विशाल साझेदारी गरे । २० ओभर ५ बलमा १२४ रन जोडेर महत्वपूर्ण साझेदारी गरेपछि पुलिसका अमित श्रेष्ठ आउट भए । पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ४६ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै महत्वपूर्ण ६० रन जोडे । पुलिसका लागि अमित श्रेष्ठले ४८ रन र आरिफ शेखले ३८ रन बनाएका थिए ।

बलिङतर्फ बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै, रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले समान एक/एक विकेट लिएका थिए । मकवानपुरका रिजन ढकाल सबैभन्दा महंगो सावित भए । उनले १० ओभर बलिङ गरेर १ विकेट मात्रै लिँदा ६९ रन व्यहोर्नु पर्‍यो । ६ ओभर बलिङ गरेका इशान पाण्डेले पनि ४५ रन व्यहार्न बाध्य भए ।

जवाफी व्याटिङ गरेको बागमतीले ४५ ओभर २ बलमा २ सय ४ रन बनाउँदै अल आउट हुनुपर्‍यो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन बनाएका थिए । शुभ कंसाकारले ३६ रन र विपिन आचार्यले २० रन बनाएका थिए । यस्तै सूर्य तामाङले १७ रन बनाए । बलिङतर्फ नेपाल पुलिसका ललित नारायण राजवंशीले सर्वाधिक ४ विकेट लिएका थिए । कुशल भुर्तेलले ३ र करण केसीले २ विकेट लिएका थिए ।