विश्वविद्यालयको बोर्ड अफ ट्रष्टीका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल डा. विश्वकर्मालाई डीन नियुक्तिको पत्र प्रदान गर्नुहुँदै ।

हेटौँडा : बागमती प्रदेश विश्वविद्यालयको कानून तथा व्यवस्थापन संकायको डीनमा डा. गंगाराम विश्वकर्मा नियुक्त हुनुभएको छ । बुधबार डीन सिफारिस समितिको सिफारिसमा विश्वविद्यालयको बोर्ड अफ ट्रष्टीका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले डा. विश्वकर्मालाई कानून तथा व्यवस्थापन संकायको डीन नियुक्त गर्नुभएको हो ।

उहाँलाई तत्काल लागू हुने गरी कानून तथा व्यवस्थापन संकायको डीनमा नियुक्त गरेको विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कानून तथा व्यवस्थापन संकायको शैक्षिक कार्यक्रम, अनुसन्धान पहल र प्रशासनिक कार्यहरुको निरीक्षण गर्ने गरी विश्वकर्मालाई जिम्मेवारी दिइएको छ । शिक्षाको गुणस्तर बढाउने, नवप्रवर्तन, अनुसन्धानलाई बढावा दिने र संकाय भित्र सामुदायिक संलग्नतालाई सुदृढ गर्ने उहाँको भूमिका रहेको छ ।

विश्वविद्यालयले गत फागुन ११ मा डीन नियुक्तिका लागि सार्वजनिक सूचना आह्वान गरिएको थियो । प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९ संशोधनसहित प्रदेश विश्वविद्यालयको विधान, २०८१ र बागमती प्रदेश विश्वविद्यालयको डीन सिफारिस सम्बन्धी मापदण्ड, २०८१ अनुसार आवेदन माग गरिएको थियो । सो सूचनाको आधारमा पेश भएका निवेदनबाट ५ जनाको नाम समावेश गरी संक्षिप्त सूचि तयार गरिएको थियो ।

विश्वविद्यालयले धरमपुर–५, झापाका डा. विश्वकर्मासहित भक्तपुर–९, भक्तपुरका डा. डिबंगर खोटेजा, दोरम्बा–३, रामेछापका डा. दीपक महत, भरतपुर–४, चितवनका डा. सुदीप वाग्ले र रुपाकोट–३, तनहूँका डा. शिवराज अधिकारीको नाम संक्षिप्त सूचितमा समावेश गरेर प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि चैत ५ गते बोलाएको थियो । अन्तरवार्ता र प्रस्तुतीकरणको आधारमा डा. विश्वकर्मालाई डीनमा नियुक्त गरिएको डा. सुवेदीले बताउनुभयो ।