हेटौंडाः महालक्ष्मी विकास बैंक लिमिटेड हेटौंडा शाखाले हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयलाई डस्टविन सहयोग गरेको छ । बिहीबार बैंकका कर्मचारीले वडा कार्यालयमै पुगेर डस्टविन हस्तान्तरण गरेका हुन् ।

महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ३० थान डस्टविन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । बैंकको प्रधान कार्यालयका सहायक प्रमुख कार्यकारी अधिकृत अमितबहादुर चन्दले करिब २८ हजार रुपैयाँ बराबरको डस्टविन वडाध्यक्ष नवीन सिग्देललाई हस्तान्तरण गर्नुभयो ।

वडाभित्र फोहोर व्यवस्थापनमा चुनौती भएको अवस्थामा वडा कार्यालयलाई डस्टविन सहयोग गरेकोमा वडाध्यक्ष सिग्देलले खुशी व्यक्त गर्नुभयो । फोहोर व्यवस्थापनमा देखिएको चुनौतीलाई मध्यनजर गरेर सहयोगस्वरुप प्राप्त भएको डस्टविनलाई सार्वजनिक स्थानमा प्रयोग गर्ने उहाँले बताउनुभयो । विद्यालय तथा क्याम्पसका चौरमा डस्टविन राख्ने उहाँले बताउनुभयो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत चन्दले यसअघि रोटरी क्लब अफ हेटौंडासँगको सहकार्यमा हुप्रचौरमा राख्नका लागि डस्टविन सहयोग गरेको बताउनुभयो । हेटौंडा–१० स्थित सामुदायिक आँखा अस्पतालमा पानीको प्यूरिफायर, हेटौंडा–११ स्थित सहिद स्मारकमा डस्टविन र रोटरी क्लबसँगको सहकार्यमा विद्यालयमा शौचालय निर्माण गरेको उहाँले बताउनुभयो । डस्टविन हस्तान्तरण कार्यक्रममा वडा सदस्य गीता त्रिपाठीलगायत वडा कार्यालय र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।