Home खेलकुद प्रधानमन्त्री कप क्रिकेट, नेपाल पुलिसँग बागमती पराजित

प्रधानमन्त्री कप क्रिकेट, नेपाल पुलिसँग बागमती पराजित

हेटौंडाः नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रधानमन्त्री (पीएम) कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको टिम नेपाल पुलिस क्लबसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ९३ रनले हराएको हो । लिग चरणको छैठौं खेल सक्किँदा बागमती प्रदेशले ४ खेल हारेको छ भने २ खेल मात्रै जितेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो । नेपाल पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ८८ रन बनाए । ९८ बलको सामना गरेका कुशलले ११ चौका प्रहार गरेका थिए । पहिलो विकेटका लागि कुशल र अमित श्रेष्ठले १२४ रनको विशाल साझेदारी गरे । २० ओभर ५ बलमा १२४ रन जोडेर महत्वपूर्ण साझेदारी गरेपछि पुलिसका अमित श्रेष्ठ आउट भए । पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ४६ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै महत्वपूर्ण ६० रन जोडे । पुलिसका लागि अमित श्रेष्ठले ४८ रन र आरिफ शेखले ३८ रन बनाएका थिए ।

बलिङतर्फ बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै, रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले समान एक/एक विकेट लिएका थिए । मकवानपुरका रिजन ढकाल सबैभन्दा महंगो सावित भए । उनले १० ओभर बलिङ गरेर १ विकेट मात्रै लिँदा ६९ रन व्यहोर्नु पर्‍यो । ६ ओभर बलिङ गरेका इशान पाण्डेले पनि ४५ रन व्यहार्न बाध्य भए ।

जवाफी व्याटिङ गरेको बागमतीले ४५ ओभर २ बलमा २ सय ४ रन बनाउँदै अल आउट हुनुपर्‍यो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन बनाएका थिए । शुभ कंसाकारले ३६ रन र विपिन आचार्यले २० रन बनाएका थिए । यस्तै सूर्य तामाङले १७ रन बनाए । बलिङतर्फ नेपाल पुलिसका ललित नारायण राजवंशीले सर्वाधिक ४ विकेट लिएका थिए । कुशल भुर्तेलले ३ र करण केसीले २ विकेट लिएका थिए ।

Exit mobile version