हेटौंडाः प्रथम संस्करणको अल नेपाल बुटवल मेयर कप खुला स्नुकर प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाइ गरिएको छ । हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउसमा आइतबार एक कार्यक्रम गरेर प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाइ गरिएको हो ।
बुद्ध स्नुकर हाउसका सञ्चालक सञ्जु लामाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा खेलाडीको बिदाइ कार्यक्रम भएको हो । आज सोमबारबाट फागुन २४ गतेसम्म हुने मेयर कप स्नुकर प्रतियोगितामा हेटौंडाबाट ७ जना खेलाडीहरु सहभागी हुने बुद्ध स्नुकर हाउसका सञ्चालक पूर्णभक्त लामाले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको प्रतिनिधित्व गरेर टिम प्रशिक्षकको रुपमा समेन्द्र लामा जानुहुने उहाँले बताउनुभयो । केही समयअघि हेटौंडामा सम्पन्न भएको मेयर कप स्नुकर प्रतियोगिताको उपाधि विजेता प्रयास कर्माचार्य, उपविजेता जिनेश श्रेष्ठ, तृतीय हुनु भएका मिथुन लामा, बिनय लामा, नितेश खण्डेवाल, सृजना कार्की र नवीन गुरुङ प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रतियोगिता बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा हुने उहाँले बताउनुभयो । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका खेलाडीसहित करिब २ सय जनाको सहभागिता रहने उहाँले बताउनुभयो । बाहिरी जिल्लाबाट सहभागी हुने खेलाडीका लागि आयोजकले खाना र बासस्थानको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एसोसिएसन रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई नगर खेलकुद विकास समितिका अध्यक्ष घिमिरेले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको मेयरकप स्नुकर प्रतियोगिताको निरन्तरतालाई प्राथमिकता दिने बताउनुभयो ।
प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख एक हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ तथा सेमिफाइनलिष्टले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, राइजिङ्ग स्टार र अनुशासनको पालना गर्ने खेलाडीले स्नुकर स्टिक प्राप्त गर्नेछन् ।