Home खेलकुद बुटवल मेयर कप स्नुकरमा सहभागी हुने खेलाडीको बिदाइ

बुटवल मेयर कप स्नुकरमा सहभागी हुने खेलाडीको बिदाइ

हेटौंडाः प्रथम संस्करणको अल नेपाल बुटवल मेयर कप खुला स्नुकर प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाइ गरिएको छ । हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउसमा आइतबार एक कार्यक्रम गरेर प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाइ गरिएको हो ।

बुद्ध स्नुकर हाउसका सञ्चालक सञ्जु लामाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा खेलाडीको बिदाइ कार्यक्रम भएको हो । आज सोमबारबाट फागुन २४ गतेसम्म हुने मेयर कप स्नुकर प्रतियोगितामा हेटौंडाबाट ७ जना खेलाडीहरु सहभागी हुने बुद्ध स्नुकर हाउसका सञ्चालक पूर्णभक्त लामाले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको प्रतिनिधित्व गरेर टिम प्रशिक्षकको रुपमा समेन्द्र लामा जानुहुने उहाँले बताउनुभयो । केही समयअघि हेटौंडामा सम्पन्न भएको मेयर कप स्नुकर प्रतियोगिताको उपाधि विजेता प्रयास कर्माचार्य, उपविजेता जिनेश श्रेष्ठ, तृतीय हुनु भएका मिथुन लामा, बिनय लामा, नितेश खण्डेवाल, सृजना कार्की र नवीन गुरुङ प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगिता बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा हुने उहाँले बताउनुभयो । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका खेलाडीसहित करिब २ सय जनाको सहभागिता रहने उहाँले बताउनुभयो । बाहिरी जिल्लाबाट सहभागी हुने खेलाडीका लागि आयोजकले खाना र बासस्थानको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एसोसिएसन रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई नगर खेलकुद विकास समितिका अध्यक्ष घिमिरेले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको मेयरकप स्नुकर प्रतियोगिताको निरन्तरतालाई प्राथमिकता दिने बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख एक हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ तथा सेमिफाइनलिष्टले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, राइजिङ्ग स्टार र अनुशासनको पालना गर्ने खेलाडीले स्नुकर स्टिक प्राप्त गर्नेछन् ।

Exit mobile version