हेटौंडा : मकवानपुरगढी गाउँपालिकाको जालपादेवी माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण शिलान्यास गरिएको छ । गाउँपालिका वडा नम्बर–६, डुम्रेकुनास्थित जालपादेवी माध्यमिक विद्यालयमा नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।
बिहीबार एक कार्यक्रमका बीच नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । जालपादेवी माविमा लामो समयदेखि पुरानो ट्रस (जस्ताको छानो) हालेको पानी चुहिने भवनमा विद्यार्थी बस्दै आएकोमा उक्त भवन भत्काएर नयाँ भवन निर्माण कार्य सुरु गरिएको विद्यालयका प्रधानाध्यापक राजुप्रसाद गौतमले जानकारी दिनुभएको छ ।
४÷४ कोठाको पुरानो भवनलाई भत्काएर ३ तल्ले १२ कोठे भवन निर्माण गर्न लागिएको प्रधानाध्यापक गौतमले बताउनुभयो । संघीय सहरी विकास मन्त्रालयको १ करोड ५३ लाख रुपैयाँ बजेटमा निर्माण कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने गरी भवन निर्माणका लागि सम्झौत गरिएको उहाँले बताउनुभयो । कक्षा नर्सरीदेखि कक्षा–१० सम्म पठनपाठन हुने विद्यालयमा ४ सय ३४ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो ।
विद्यालयमा अहिले भवन भत्किएका कारण शौचालयको समस्या परेको उहाँले बताउनुभयो । विद्यालयका विद्यार्थीका लागि अंग्रेजी माध्ययममा पनि कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । दुप्चेश्वर इन्फ्रास्ट्रक्चर प्रालिले गत पुस १८ गते ९३ लाख ५४ हजार ७ सय ५१ रुपैयाँ बजेटमा निर्माण गर्नेगरी भवन निर्माणको सम्झौता गरेको उहाँले बताउनुभयो ।
गर्मी मौसममा पढ्न नसक्ने, पर्खाल भत्किएको कारणले पानी पर्ने र विद्यार्थीलाई पढाइको समयमा समस्या पर्ने कारणले भवन निर्माणलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । विद्यालयले गत वर्षबाट बागमती प्रदेशको अनुदानमा सिक्दै, कमाउँदै कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । विद्यालयमा विषयगत प्रयोगशाला सञ्चालन गरेको उहाँले बताउनुभयो ।
जालपादेवी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर स्याङ्तानको सभाध्यक्षमा भएको भवनको शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, पूर्वअध्यक्ष विदुर हुमागाईं, नेकपा एमाले गाउँपालिका कमिटी अध्यक्ष जीतबहादुर घिमिरे, ६ नम्बर वडाका पूर्वअध्यक्ष टीकाप्रसाद दहाल, ६ नम्बर वडा सदस्य जीतबहादुर घलान, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार कृष्णप्रसाद सुवेदी, शिक्षक अभिभावक संघ संयोजक प्रदीप स्याङ्तान, सदस्य सीता सापकोटा, पूर्वप्रधानाध्यापक शिवप्रसाद पाण्डे, मनकाजी घलान, शिक्षक प्रतिनिधि भवनाथ गौतम, शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको थियो ।