मन्त्रिपरिषद् बैठकको क्रममा खिचिएको तस्वीर ।

हेटौँडाः बागमती प्रदेश सरकारले २ कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय राना मगरलाई पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेशका सिनियर डिभिजनल इन्जिनियर नविन सिंहलाई ११ औं तह (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले सहसचिव रानालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा कामकाजका लागि खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत उपसचिव स्तरका सिनियर डिभिजन इन्जिनियर सिंहलाई कार्यसम्पादन तथा योग्यताको आधारमा ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले मण्डन देउपुर नगरपालिका र जागानको फँजी नोमिरा शहर बिच भगिनी सम्बन्ध स्थापनाको लागि सहमतीसहित संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले लदी पर्वको अवसरमा माझि समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन २० मा मनाइने उक्त पर्वमा माझि समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो।

बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयको प्रविधि हस्तान्तरण कार्यविधी र तालिम संचालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै वन डढेलो सम्बन्धमा अष्ट्रेलियामा अध्ययन तथा अनुगमनका लागि प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केशव बरालको भ्रमण आदेश स्वीकृत गर्ने निर्णय गरेको छ ।