हेटौंडा: मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गाउँपालिका वडा नम्बर–४ स्थित चिउरी बगैंचा युवा क्लबले जितेको छ । बुधबार सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलको उपाधि चिउरी बगैंचा युवा क्लबले जितेको हो ।

भीमफेदी युवा क्लब ‘ए’लाई चिउरी बगैंचा युवा क्लबले ३–१ को सेटले पराजित गरेको छ । उपाधि जितेसँगै चिउरी बगैंचाको टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भीमफेदीको टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चिउरी बगैंचाका सागर थापा, उदीयमान खेलाडी निब्टा क्लबका देविस लामा, उत्कृष्ट सेटर सिक्स ब्रदर्शका जन लामा र उत्कृष्ट स्पाइकर भीमफेदीका इमु अमात्य घोषित भएका छन् । विधागत उत्कृष्ट खेलाडीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
मंगलबार भएको क्वार्टरफाइनल चरणको खेलहरुमा जीत निकाल्दै ६ ब्रदर्श भैँसे, भीमफेदी ए, निब्टा क्लब र चिउरी बगैंचा सेमीफाइनलमा प्रवेश गरेको थियो । ६ ब्रदर्शले कालिकाटार युवा क्लबलाई २–० को सोझो सेटले पराजित गरेको थियो । दोस्रो खेलमा पान्द्राङ युवा क्लब भैंसेलाई भीमफेदी ए ले २–० को सोझो सेटले पराजित गरेको थियो । तेस्रो खेलमा भीमफेदी युवा क्लब बी लाई २–० को सोझो सेटले निब्टा क्लबले पराजित गरेको थियो । यस्तै, चौथो खेलमा सुपिङ युवा क्लबलाई चिउरी बगैंचाले २–० को सोझो सेटले पराजित गरेको थियो ।

निब्टा क्लबका अध्यक्ष दिनेश लामाको सभाध्यक्षमा भएको समापन कार्यक्रममा पालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, ४ नम्बर वडाध्यक्ष सागर पाण्डे, ५ नम्बर वडाध्यक्ष जाहार सिंह लामा, जिल्ला समन्वय समिति मकवानपुरका पूर्वउपप्रमुख भगवती पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।

बुधबार दिउँसो सम्पन्न भएको पहिलो सेमीफाइनल खेलमा आयोजक निब्टा क्लबलाई ३–० को सोझो सेटले हराउँदै चिउरी बगैंचा क्लब फाइनलमा प्रवेश गरेको थियो भने बुधबारै सम्पन्न भएको सेमीफाइनल खेलमा सिक्स बदर्श भैँसेलाई ३–० को सोझो सेटले हराउँदै भीमफेदी युवा क्लब फाइनलमा प्रवेश गरेको थियो । भीमफेदी गाउँपालिकाको आर्थिक सहयोग तथा निब्टा क्लबको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगितामा ११ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताका संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो । क्लबले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विगत वर्षदेखि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको संयोजक अधिकारीले बताउनुभयो । प्रतियोगिताका लागि गाउँपालिकाले ३ लाख रुपैयाँको बजेट सहयोग गरेको उहाँले बताउनुभयो ।