हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । भवानी माध्यमिक विद्यालयको खेल मैदानमा २ दिन सञ्चालन हुने प्रतियोगितामा ६ वटा माध्यामिक विद्यालयले सहभागिता जनाएका छन् । गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले प्रतियोगिताको उद्घाटन गर्दै विगतमा विद्यालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिता ऐनमा उल्लेख भए बमोजिम यसवर्षदेखि भने समिति मार्फत प्रतियोगिता गरिएको जानकारी दिनुभयो । गत वर्ष कैलाशले जिल्लास्तरीय प्रतियोगितामा स्वर्ण एक, रजत तीन र कास्य दुई वटा पदक जित्न सफल भएका उहाँले बताउनुभयो । सोही अनुरुप अहिले विजयी भएर जिल्लामा गई छात्रछात्राले विभिन्न पदक जित्न सफल हुनेछन् भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

उहाँले खेललाई मर्यादित र अनुशासित भएर खेल्न आग्रह गर्दै भौगोलिक विकटता रहेको कैलाशलाई शिक्षा र खेलकुद क्षेत्रको विकासमा वृद्धि गर्दै लगिरहेको बताउनुभयो । उहाँले यसै वर्षदेखि पहिलो पटक कैलाशको कालिका माविलाई एसईई परीक्षाको केन्द्र तोकेको बताउनुभयो । कैलाशका विद्यार्थीले हेटौंडा, थाहा, मनहरीमा परीक्षा केन्द्र तोकेर जानुपर्ने बाध्यता हटेको बताउनुहुँदै अब कालिका माध्यमिक विद्यालयमा विद्यार्थीले सहज वातावरणमा परीक्षा दिन सकिने उहाँको भनाई छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले विद्यालयबाटै खेलकुदको विकास गर्न सके राष्ट्रिय खेलाडी तयार हुन सहजता हुने बताउनुभयो । उहाँले अनुशासित भएर खेलाडीलाई आग्रह गर्दै जिल्ला, प्रदेश र केन्द्रसम्म पुगी पदक जित्न खेलाडीलाई शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगितामा तीन विधाका खेल खेलाइने जनाइएको छ । भलिबल, मार्सल आर्ट र एथ्लेटिक्स खेलबीच प्रतिस्पर्धा रहने छ । एथ्लेटिक्समा एक सय, दुई सय, चार सय र आठ सय मिटरको दौड, हाइजम्प, लमजम्प, सर्टफुट लगायत अन्य खेल रहेका छन् भने छात्रतर्फ भलिबल र कालिका मावि र रत्नज्योति माविका विद्यार्थीबीच मार्सल आर्ट रहने समितिका सदस्य सचिव समेत रहनुभएका शिक्षा अधिकृत समीर जोशीले जानकारी दिनुभयो ।

छनोट भएका विद्यार्थीलाई जिल्ला खेल्न पठाइनुका साथै पदकको आधारमा विद्यालयलाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रदान गरिने जोशीले बताउनुभयो । प्रतियोगितामा कैलाश–२ स्थित कमलादेवी मावि, कैलाश–३ स्थित भवानी मावि, कैलाश–६ स्थित व्यास मावि, कैलाश–८ स्थित धुवाङ्ग मावि, कैलाश–९ स्थित कालिका मावि र कैलाश–१० स्थित रत्नज्योति माविका विद्यार्थी सहभागी रहेको जोशीले बताउनुभयो । विजेताहरुलाई बिहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिनेछ ।