हेटौँडा : अवैध लागूऔषध गाँजासहित पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका–५ का २५ वर्षीय चन्दन चौधरी मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७, प्याङ्चेबाट पक्राउ परेका छन् । बुधबार बिहान ८ बजेर ३० मिनेटको समयमा चौधरीलाई प्रहरीले लागूऔषध गाँजा १० किलो ९२० ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाको चैनपुरबाट मनहरीतर्फ आउँदै गरेका चौधरीलाई प्रहरीले तलासी गर्दा गाँजा बरामद भएको बताइएको छ । प्रहरीले चौधरीलाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । मकवानपुरको राक्सिराङ, कैलाश गाउँपालिका अवैध लागूऔषध गाँजा र अफिमको व्यावसायिक उत्पादन हुने क्षेत्र हो । लागूऔषध गाँजा र अफिमको व्यापक खेती भए पनि स्थानीय सरकार, प्रहरी, प्रशासनले नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन सकेको छैन ।