हेटौंडा: हेटौंडा–४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको दोस्रो खेलकुद महोत्सवको उपाधि हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले जितेको छ । गत माघ ९ गतेबाट सुरु भएर एक महिनासम्म सञ्चालन भएको खेलकुद महोत्सवको उपाधि भुटनदेवी माविले जितेको हो ।
भुटनदेवीले एथ्लेटिक्सतर्फ ८ वटा स्वर्ण, ९ वटा रजत र ८ वटा कास्यगरी २५ पदक प्राप्त गरेको छ । बुधबार एक कार्यक्रमबीच खेलकुद महोत्सवका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
सांस्कृतिक एवम् पुरस्कार वितरण कार्यक्रमकै अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददात रोहित थापा र अनिरुद्र खबरका सम्पादक अनिल पराजुलीलाई सम्मान गरिएको छ । एक महिनासम्म सञ्चालन भएको खेलकुद महोत्सव कार्यक्रमको समाचार संकलन गरेर प्रचारप्रसारमा सहयोग गरेको भन्दै जनही ५ हजार रुपैयाँ नगद राशिसहित सम्मान गरिएको हो ।
शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहालको सभाध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि पौडेलले विकास भन्नेवित्तिकै सबैले भौतिक पूर्वाधार निर्माणको कुरालाई मात्र बुझ्ने गरेको बताउनु भएको छ । शारीरिक र मानसिक विकास गर्नुपर्ने कुरालाई कसैले नबुझेको उहाँले जिकिर गर्नुभयो । यति धेरै विद्यार्थीको सहभागितामा खेलकुद महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण रहेको उहाँले दावी गर्नुभएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सबै वडा कार्यालयले यस्ता प्रकारका क्रियाकलापलाई प्राथमिकतामा राख्न जरुरी रहेको उहाँले जोड दिनुभयो । पढाई र सिकाइमा फरक पर्ने भएकाले किताब पढाउने काम मात्र नगरेर सिकाइलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो । विद्यार्थीलाई अभिभावकले रचनात्मक क्रियाकलापमा लगाउन जरुरी रहेको उहाँको भनाइ छ ।
हेटौंडा ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले एक हजार दुई सय विद्यार्थीको सहभागितामा सफलतापूर्वक प्रतियोगिता आयोजना गरेको बताउनुभयो । शिक्षा क्षेत्रमा सुधार नभएसम्म पढाइमा सहयोग नपुग्ने उहाँले दावी गर्नुभयो । ४ नम्बर वडाले खेलकुदको माध्यमबाट सबै वडालाई प्रेरित गरेको धारणा राख्नुभयो । हरेक विद्यालयमा खेलकुद शिक्षकको व्यवस्था हुनुपर्छ भन्दै वडाध्यक्ष सिग्देलले अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको चौतर्फी विकास गर्नुपर्छ भनेर एक महिने खेलकुद महोत्सव आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, मकवानपुर क्याम्पस प्रमुख यमबहादुर सिलवाल, ११ नम्बर वडा अध्यक्ष जुना दहाल, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानलगायतको आतिथ्य थियो ।
एक महिनासम्म सञ्चालन भएको खेलकुद महोत्सवमा ४ नम्बर वडाका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीबीच हाजिरीजवाफ, निबन्ध लेखन, वक्तृत्वकला, कविता, नेपाली हिज्जे, वादविवादजस्ता बौद्धिक अतिरिक्त क्रियाकलाप सञ्चालन भएको थियो । विभिन्न दुरीको दौड, रिले दौड, लङ्जम्प, ट्रिपल जम्प तथा सटपुट थ्रोजस्ता एथ्लेटिक्सको प्रतिस्पर्धा गराइएको थियो । महोत्सवमा हेटौंडा उपमहानगरपालिका भित्रका माध्यमिक विद्यालयका विद्यार्थीको सहभागितामा ७ ए साइड फुटबल, भलिबल, बास्केटबल, क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो । यस्तै, वडाभित्रका शिक्षकहरुबिच ५ ए साइड फुटबल र टग अफ वार प्रतियोगिता गराइएको थियो । सबै प्रतियोगिताका विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।