हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित टिसिएन चौरमा आज मंगलबारबाट निर्माण तथा व्यापार महोत्सव सुरु हुने भएको छ । निर्माण व्यवसायी संघ मकवानपुर तथा शान्तिबाटिका संस्था नेपालको आयोजनामा हुन लागेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।
सोमबार निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले कार्यक्रमस्थलमा पत्रकार सम्मेलन आयोजना गर्दै फागुन ६ गते मंगलबारदेखि फागुन १६ गतेसम्म हुन लागेको व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महोत्सवस्थलमा स्टल निर्माण, स्टेज निर्माण, टिकटघर लगायतका पूर्वाधारहरुको तयारी अन्तिम अवस्थामा रहेको उहाँले जानकारी दिनुभएको छ ।
हेटौंडा–४ स्थित हुप्रचौरबाट बिहान साढे १० बजे शोभायात्रा सुरु गरेर बुद्धचोक हुँदै टिसिएन चौर पुगेर समापन हुने उहाँले बताउनुभयो । महोत्वसको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गर्नेगरी कार्यक्रम तय भएको उहाँले बताउनुभयो । महोत्सवको दोश्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आइडल प्रतियोगिता, स्थानीय कलाकार र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने उहाँले बताउनुभयो । हेटौंडा आइडलमा प्रारम्भिक छनौटमा १६ जना छनौट भइसकेको उहाँले जानकारी दिनुभयो ।
दोस्रो व्यापार महोत्सवमा नवीनतम निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन, स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन तथा सेवाहरुको प्रदर्शनी एवम् बिक्री हुने उहाँले बताउनुभयो । सूचना प्रविधि तथा कृषि उत्पादनको प्रदर्शनी, घरेलु तथा हस्तकला सामग्रीको प्रदर्शनी एवम् बिक्री, कृषि उत्पादनको प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरुको बिक्री वितरण हुनेछ । महोत्सवमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, शैक्षिक, घरजग्गा, अटो, खाना तथा बस्तु र सेवाको प्रदर्शनी एवम् बिक्री हुने उहाँले बताउनुभयो । महोत्सवमा करिब ३०० वटा स्टलहरु रहने उहाँले बताउनुभयो ।