Home मुख्य समाचार आजबाट निर्माण तथा व्यापार महोत्सव

आजबाट निर्माण तथा व्यापार महोत्सव

पत्रकार सम्मेलन मार्फत जानकारी दिनुहुदै निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित टिसिएन चौरमा आज मंगलबारबाट निर्माण तथा व्यापार महोत्सव सुरु हुने भएको छ । निर्माण व्यवसायी संघ मकवानपुर तथा शान्तिबाटिका संस्था नेपालको आयोजनामा हुन लागेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।

सोमबार निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले कार्यक्रमस्थलमा पत्रकार सम्मेलन आयोजना गर्दै फागुन ६ गते मंगलबारदेखि फागुन १६ गतेसम्म हुन लागेको व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महोत्सवस्थलमा स्टल निर्माण, स्टेज निर्माण, टिकटघर लगायतका पूर्वाधारहरुको तयारी अन्तिम अवस्थामा रहेको उहाँले जानकारी दिनुभएको छ ।
हेटौंडा–४ स्थित हुप्रचौरबाट बिहान साढे १० बजे शोभायात्रा सुरु गरेर बुद्धचोक हुँदै टिसिएन चौर पुगेर समापन हुने उहाँले बताउनुभयो । महोत्वसको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गर्नेगरी कार्यक्रम तय भएको उहाँले बताउनुभयो । महोत्सवको दोश्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आइडल प्रतियोगिता, स्थानीय कलाकार र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने उहाँले बताउनुभयो । हेटौंडा आइडलमा प्रारम्भिक छनौटमा १६ जना छनौट भइसकेको उहाँले जानकारी दिनुभयो ।

दोस्रो व्यापार महोत्सवमा नवीनतम निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन, स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन तथा सेवाहरुको प्रदर्शनी एवम् बिक्री हुने उहाँले बताउनुभयो । सूचना प्रविधि तथा कृषि उत्पादनको प्रदर्शनी, घरेलु तथा हस्तकला सामग्रीको प्रदर्शनी एवम् बिक्री, कृषि उत्पादनको प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरुको बिक्री वितरण हुनेछ । महोत्सवमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, शैक्षिक, घरजग्गा, अटो, खाना तथा बस्तु र सेवाको प्रदर्शनी एवम् बिक्री हुने उहाँले बताउनुभयो । महोत्सवमा करिब ३०० वटा स्टलहरु रहने उहाँले बताउनुभयो ।

Exit mobile version