हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा अष्ट्रियाको भ्रमणमा जानुभएको छ । अष्ट्रियाको भियनास्थित इन्सब्रुक विश्वविद्यालयमा आयोजित सह–अन्वेषणसम्बन्धी परियोजना कार्यशाला तथा सञ्जालीकरण बैठकमा सहभागी हुन नगरप्रमुख लामा त्यसतर्फ जानुभएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
बीईईएन परियोजना (युरोपियन युनियन) ले स्विच एसिया अन्तर्गत वित्त पोषित कार्यक्रममा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएकी नगरप्रमुख लामा आउँदो शनिबार फर्कने कार्यक्रम रहेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमका अनुसार नेपालबाट नगरप्रमुख लामासँगै पोखरा महानगरपालिकाका एक ईन्जिनियर अष्ट्रिया गएका छन् ।
नगरप्रमुख लामाको वैदेशिक भ्रमणबारे उपमहानगरपालिकाले कुनै जानकारी सार्वजनिक गरेको छैन । यसअघिका भ्रमणमा पनि उपमहानगरले नगरप्रमुखको भ्रमणको जानकारी गराउने गरेको थिएन । नगरप्रमुख लामाले यसअघि करिब आधा दर्जन मुलुकको भ्रमण गरिसक्नुभएको छ । नगरप्रमुख लामाले उपप्रमुख राजेश बानियाँलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिनुभएको छ ।