कोरोना महामारीका कारण चैत्र ६ गतेदेखि नै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प छन् भने चैत्र ११ गतेबाट लकडाउन नै सुरु भयो । यो समयमा ७० लाख बालबालिकाहरु घरमै बसिरहेका छन् । यो समय अनलाइन शिक्षा सुरु गर्ने उपयुक्त समय हो भन्नै धेरै ठाउँबाट आवाज उठिरहेको थियो । तर नेपालकै राम्रा गनिएका स्कुलहरुले चुनौति खेप्नु परेको अनुभव सुनाएका थिए । धेरै अभिभावकहरुलाई समेत आफ्ना नानीबाबुहरुलाई अनलाइन कक्षामा सहभागिता गराउन मुस्किल परेको थियो सुरुसुरुमा । कतिपय विद्यालयले आफ्नो वार्षिक परीक्षा लिन पाएनन्, कतिले एकै दिनमा दुइटा परीक्षा लिएर सक्न बाध्य भए त कतिको एक दुई विषयको परीक्षा लिन बाँकी नै थियो । त्यस्तै कुनै कुनै विद्यालयमा आधारभूत तहको परीक्षा नै भएन । अनि कुनै कुनैमा पहिलो र दोस्रो परीक्षाका आधारमा नतिजा निकालियो । यसरी हेर्दा साँच्चै वास्तविक मूल्याङ्कन भएको छ त ?

निजी विद्यालयको छाता सङ्गठन प्राइभेट एन्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल (प्याब्सन) ले लकडाउन सुरु भएकै दिन चैत ११ मा अनलाइन माध्यमबाट पढाउन विद्यालय र अभिभावकलाई आग्रह गर्‍यो । उनीहरुले सोचेको जस्तो र भनेको जस्तो नभएको अहिले छर्लङ्गै देखिन्छ । एकातिर अनलाइनमा समावेश गर्न गाह्रो भइरहेको छ भने अर्कातिर शुल्क उठाउन नपाएर ठूलो मर्कामा परेको जस्तो गरेको छ प्याव्सनले । कतिपय विद्यालयले शुल्क नलिए पनि चारपाँच महिना आफ्ना शिक्षकहरुलाई उचित तलब सुविधा खुवाउन सक्छन् भने कतिपय साँच्चै पीडामा रुमलिरहेका छन् । काठमाडौंँमा मात्र होइन, काठमाडौं बाहिरै पनि अधिकांश निजी स्कुल महामारीको भयले गाँजेको आजको समाजमा के के न बितेझैं अनलाइन–नाटकमा घुमिरहेका छन् । जे जसरी हुन्छ, भर्ना गरिछाड्ने र देखावटी परीक्षा गराउँदै कक्षा चढाउने अथवा डिजिटल कक्षामा अब्बल रहेको देखाइछाड्ने । यो होडबाजीले समाजमा एक किसिमको विभेद निम्ताएको छ । निजी र सरकारी विद्यालयबीचको । सम्पन्न–विपन्न चिनाउने आधारको, डिजिटल प्रविधिको । यसलाई ‘मार्केटिङको टुल’ नै बनाएका छन् ।

निजी शिक्षण संस्थाले यसरी पढाएर शुल्क उठाउने आधार तय गरेको उनीहरुको बुझाइ छ । यदि उठाउन नपाए शिक्षकहरुलाई पनि नदिने रे । यो कति लज्जास्पद कुरो छ । हिजोका दिनमा मुनाफा हुँदा त्यही शिक्षकलाई तलब दोब्बर दिएका थिए र ? आज अभिभावकले दिएनन् भने शिक्षकलाई पनि नदिने । के शिक्षकले दैनिक ज्यालादारीमा काम गरेको हो र ? शनिबार गएन भने ज्याला नपाउने भनेर । अनि यसको विषयमा सरकार पनि जवाफदेयी हुनैपर्छ । हुँदा हुँदै अहिले त अनलाइन कक्षा सञ्चालन गरेर विद्यार्थी र अभिभावकलाई केही मात्रामा राहात दिनुपर्ने ठाउँमा उल्टै बन्द गर्नु कतिसम्म न्यायोचित व्यवहार हो प्यावसनको ?

कोरोना महामारीका कारण बढ्दो मानसिक र सामाजिक सन्त्रासका माझ ल्यापटप, मोबाइल, नेट, जुम, अनलाइन, गुगल क्लास, गु्रप च्याटिङ ह्याट्स एप आदिको अर्को सन्त्रास थपिएको छ । कोरोनाले निम्त्याएका यस्तो सङ्कटको घडीमा पनि काठमाडौं तथा केही बाहिरका निजी स्कुलहरु प्रवेश परीक्षा लिएर भर्ना गर्न नपाएको, घरघरमा गएर विद्यार्थी तान्न तथा आफ्नो किताबको कोर्स पूरा गर्न नपाएर पीडामा बसेका छन् । यस्तो अवस्थामा कतिपयले निरन्तर दिइरहेका छन् भने कतिपयले गन्तव्यमै नपुगी बिचैमा आफ्नो यात्रालाई विश्राम लिएका छन् ।

कोरोना महामारीसँगै यतिखेर घरघरमा सन्त्रासले अर्को जरो गाडेको छ, अनलाइन पढाइ । न्यून आय भएकाहरुका लागि अनलाइन शिक्षा दिवा स्वप्नसरि नै छ । दिनभर ज्याला मजदुरी गरेर छोरा छोरी पढाउने र बिहान–बेलुकाको जोहो टार्ने दैनिकीमा हराइरहेका आम मानिसका लागि एकसाथ दुई चिन्ता थपिएका छन् । पहिलो, कोरोना सङ्क्रमण होला कि भन्ने भय, दोस्रो, स्कुलले सुरु गरेको अनलाइन कक्षाको तारतम्य मिलाउने बाध्यता । यतिखेर आफ्ना छोरोछोरीको पढाइगुनाइमा नसोचेको तथा नजानेको झन्झट बेहोर्न बाध्य छन् आम अभिभावकहरु । अझ यो अवस्थामा एकथरी मानिस अनलाइन शिक्षाको रटान दिएर विद्यार्थी र अभिभावकमा समेत भ्रमको खेती गरी सस्तो लोकप्रियताका लागि हल्ला मच्चाउन लागिपरेका देखिन्छन् । यस्तो हल्लाले अनलाइनको पहुँच नहुने अभिभावक आतङ्कित बनेका छन् । कतै मेरा बच्चाहरु सिकाइबाट बञ्चित त भएनन् ? भनेर पीडामा रुझिरहेका छन् ।

आफ्नो आयश्रोत कमजोर भएकाहरुका लागि यो अनलाइन त्यति प्रभावकारी नभएकै देखिन्छ र रुचि पनि कम भएको पाइन्छ । यथार्थमा विद्यार्थीले फेसबुक वा मेसेन्जर चलाउनु भनेको ‘प्राविधिक साक्षरता’ होइन । यो विद्यार्थीका लाथि अवैधानिक तथा अनाधिकृत्त मानिन्छ, उनीहरुको उमेरले । यस्ता कुरा फेरि विद्यालयले गराइरहँदा कतिसम्म जायज कुरो हो ? गाउँघरमा अझै पनि देखिन्छ, आफूसँग भएको स्मार्ट फोनमा १ सय रुपैयाँको डाटा प्याकेज भरेपछि प्रायजसो विदेशमा रहेका आफन्तलाई मेसेन्जर, इमो वा भाइबरबाट कल गरी गफ गर्ने प्रचलन रहेको । त्यस्तै ‘जुम’ के हो ? डाउनलोड कताबाट गर्ने अथवा ग्रुप(च्याट कताबाट सुरु हुन्छ, केही पत्तो नभएका अधिकांश अभिभावकहरु पनि हाम्रै छरछिमेकमा छन् । कतिपय गाउँ–बस्तीमा फोनको नेटवर्क भेट्न रुख चढ्नुपर्ने अवस्थामा देखासिकी अनलाइन पढाइ थालेको उनीहरुका लागि टोक्नु न बोक्नु भएको छ ।

अनलाइनमा पढाउन कतिपय शिक्षकहरुलाई अभिमुखीकरण तालिम नै प्रदान गरिएको छैन यस विषयमा विद्यालयहरु मौन छन् । सिकाइ क्रियाकलाप कसरी विद्यार्थी मैत्री बनाउने भन्ने केहीमा प्रावधान भएपनि केहीमा शून्य नै छ । म्यासेन्जर र स्काइपमा कुरा गरेर मात्र अनलाइन कक्षा हुन्छ त ? शिक्षकहरुका लागि आवश्यक तालिमको व्यवस्था हुनुपर्ने तर त्यो अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

यो भय तथा फुर्सदको समयमा विद्यार्थीलाई सम्भव भएसम्म अतिरिक्त क्रियाकलापबाट सिकाइ, क्षमता वृद्धि वा लेखपढमा अभ्यस्त बनाउने कुराहरू सिकाउनु, चित्रहरु कोर्न लगाउनु, कुनै पुस्तकको समीक्षा गर्न लगाउनु, सिर्जनात्मक बनाउनु, साहित्यमा रुचि बढाउन प्रोत्साहन गर्नु, दिनभर जसो व्यस्त राखेर गुगल क्लास प्रयोग गरी गृहकार्यहरु बुझाउन लगाउनु, गुगल सिट, गुगल डक, पेयर डेक, स्लाइडहरुको प्रयोग तथा अन्य सामग्रीहरुको प्रयोग गरी विद्यार्थीलाई सक्रिय सहभागी गराएर पढाउन शिक्षक आफैँलाई तालिमको व्यवस्ता चाहिएको खण्डमा विद्यालयले सहजै उपलव्ध गराउनुपर्ने तर कतिपय शिक्षकको मोबाइल, ल्यापटप वा कुनै उपकरणहरु छन् कि छैनन् भनेर पनि थाहा नभएको अवस्थामा कसरी शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्न सक्छन् त ? १ घण्टा जुमबाट मात्र अनलाइन कक्षा लिएकै भरमा कोर्स पूरा गर्न शिक्षकलाई दबाब दिने, शिक्षकलाई जसरी पनि अनलाइन कक्षामा जान बाध्यकारी बनाउने अनि खाइपाइ आएको तलब सुविधा नदिने जस्ता कार्यले आम शिक्षकहरु पीडामा बाचिरहेका छन् ।

ल्यापटप, मोबाइल वा कम्प्युटर भए पनि बिजुली कुन बेला जान्छ कुन बेला आउँछ थाहा हुँदैन । अनि बोलेका कुराहरु सबै स्पष्ट सुन्दैनन् विद्यार्थीहरुले । केरे भन्दा भन्दै १ घण्टा बितेकै पत्तो नै हुँदैन । अझ गाउँगाउँमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा समेट्न झन् ठूलो चुनौति छ । मोबाइलमा डाटा होइन, दुर्गभ भेगमा राम्रोसँग नेटवर्कसमेत टिप्दैन । त्यस्तै मोबाइल पनि राम्रोसँग चलाउन नआउने धेरै विद्यार्थीहरु अझै पनि छन् । मोबाइलमा भएका एप्सहरुको सही सदुपयोग गर्न नजान्दा कतिपय अवस्थामा दुर्घटना निम्तिएको थाहा नै छ ।

तर, कतिपयले अबलम्बन गरेको गुगल, जुम, मिट, ह्याट्स अप, स्काइप वा फेसबुक म्यासेन्जर दोहोरो कुराकानीका लागि मात्रै उचित छ । त्यो पनि एउटै कक्षामा १०० औं विद्यार्थी पढाउने विद्यालयमा यी सामाजिक सञ्जाल उपयुक्त छैनन् । यसमा डाटा चोरी हुने र अनधिकृत रूपमा प्रयोग हुने चुनौति मात्रै होइन सिकाइको शैली समेत मिल्दैन भनी जानकारहरुले भनिरहका छन् ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अनलाइन कक्षा भनेर मोबाइलबाट पढाइने विधि समयको बर्बादी मात्रै हो भनी भनेका छन् । भिडियो च्याट जसरी हुने पढाइले सिकाइमा तात्विक सुधार आउँदैन । विद्यालयमै उपस्थित हुँदा त सिकाइमा रुचि नजगाउने प्रणालीले अनलाइनबाट के सिकाउँछ ? स्रोतसाधन र सूचना प्रविधिको पहुँचका कारण पनि देशभरका बालबालिका बीच अनलाइन पढाइ तत्कालै सम्भव छैन भनी शिक्षाविद् डा. विद्यानाथ कोइरालाको स्पष्टोक्ति छ ।

हुँदाहुँदै अनलाइन कक्षा पूर्णरुपमा सञ्चालनमा ल्याउन खोज्नु आकाशको फल आँखा तरी मर भनेझैँ होइन र ? जुन सामग्री प्रयोग गरेपनि सिकाइ उपलव्धि हुने खालका अवसरहरु दिन सक्नुपर्दछ ।
सिकाइ रुपान्तरणका लागि शिक्षालाई जीवनसँग जोड्ने, विद्यार्थीको बुद्धिमता र आवश्यकता अनुसार ज्ञान र बुझाइको निर्माण र सिर्जनाको आधारमा सिकाउनुपर्छ । यसका लागि दुईवटा उत्कृष्ट अभ्यासहरु सिकाइ अर्थात प्रोजेक्ट बेस्ट लर्निङ (पिबिएल) र मल्टिपल ईन्टेलिजेन्सको सिद्धान्तको समीश्रण वा जोड आवश्यक छ । पिबिएल जोन डिवी, जाँ पियाजे, लगायत थुप्रै शिक्षाविद् तथा मनोवैज्ञानिकहरुको खोजबाट उदाएको प्रगतिशिल शिक्षा वा प्रोग्रेसिभ एजुकेशनमा आधारित प्रत्यक्ष वास्तविक जीवनसँग जोड्ने क्रियाकलापहरु गरेर सिक्ने एक्काइसौं शताब्दीको एक उत्कृष्ट शिक्षण प्रक्रिया हो । तर, याद होस् नामबाट नझुक्किनु होला यो नेपालमा कम्युनिष्टहरुले भन्ने गरेको माक्र्सवादी प्रगतिशील शिक्षा जस्तो चाहिँ बिलकुलै हैन ।

प्रत्यक्ष शिक्षण वा शिक्षकले बोलेर पढाउने कुरा शतप्रतिशत गलत त हैन तर, केही सीमित शाब्दिक(साहित्यिक र गणीतीय)तार्किक बुद्धिमता भएका बच्चाहरुले बाहेक धेरैका लागि यो विधि प्रत्युत्पादक हुन्छ ।

आजको लकडाउनको सबैभन्दा राम्रो पक्ष भनेको किताब नहुनु हो । हाम्रो शिक्षाको बाधक नै एक्लो पाठ्यपुस्तकमा निर्भर हुनु हो । तसर्थ, यतिबेला पाठ्यपुस्तक , वर्कशीट, होमवर्क, आदिबाट बाहिर आउन सक्नु नै शिक्षालाई जीवनसँग जोड्नु हो । यहाँ किताब पढ्नु खराब भन्न खोजेको हैन, किताब अवश्य चाहिन्छ । तर, एक्लो किताबलाई सम्पूर्ण मानेर शिक्षालाई जीवन र जगत्बाट विमुख बनाउनु चाहिँ गल्ती नै हो । त्यसैले, दैनिक जीवनमा गर्दै आएका गतिविधि र घरमा उपलब्ध सामग्रीहरुको प्रयोगबाट गर्न सकिने क्रियाकलापलाई शिक्षा र सिकाइसँग जोड्ने कार्य प्रारम्भ गर्नुपर्दछ ।

शिक्षा जीवनसँग जोडिन्छ, एकातिर हामीले परम्परागत रुपमा पढाउनु पर्दैन भने अर्कोतिर विद्यार्थीहरु म पढीरहेको छु, यो गाह्रो छ, धेरै मेहेनत गर्नुपर्छू भन्ने अप्रिय सोच बाहिर आउँछ । थाहै नपाई उसलाई मनपरेको गतिविधि गर्दागर्दै सिकाइको लक्ष्य पूरा हुन जान्छ ।

विशेषतः हरेक बच्चामा अन्तर्निहित क्षमता हुन्छ त्यसलाई चिनेर फरक बच्चा वा समूहलाई फरक खालको क्रियाकलाप विकास गरी प्रक्रियामा ढाल्दा एकीकृत सिकाइ प्रस्तुति अत्यन्त रमाइलो एवम् प्रभावकारी हुने गर्दछ । तर, आज जुन तरिकाले अनलाइन कक्षामा पनि स्कूलमा गराउने गतिविधि नै गराइएको देखिन्छ, त्यसमा तत्काल सुधार आवश्यक छ । कथा, कविता घोटाई घोटाई पढाउनु भन्दा स्वतन्त्र रुपमा केही किताबहरु पढ्न दिएर वा आवश्यक प्रसङ्ग र आधार दिएर नयाँ रचना र सिर्जना गराउन सकिन्छ ।
यो त केही उदाहरण मात्र हो, कुरोको चुरो भनेको शिक्षा जीवनमै छ र जीवनकै लागि हो भन्ने हो । जीवनबाट अलग्याएर सिकाउनु भनेको उसलाई वास्तविक ज्ञान र सिकाइबाट विमुख गराउनु हो । सम्भावना अथाह छ, त्यही थाहा नभएर दुःख भएको मात्र हो । हाम्रो शिक्षकहरुको एउटा महान् भूल भनेको एउटै तरिकाले सबैलाई पढाउनु र एउटै क्रियाकलाप सबै विद्यार्थीहरुलाई जसरी भएपनि गराउनु हो । यो भूल विद्यालय, शिक्षक तथा अभिभावकबाट कदापि हुनुहुँदैन ।