प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेको तस्वीर ।

हेटौंडा : नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको व्यवस्थापनमा भएको जिल्लास्तरीय क्रसकन्ट्री एलिमिनेटर साइक्लिङ प्रतियोगितामा राजीप ठाकुर र आयुष दास प्रथम हुनुभएको छ । शनिबार हेटांैडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको प्रतियोगितामा खुलातर्फ ठाकुर र जुनियरतर्फ दास प्रथम हुनुभएको हो ।

प्रतियोगितामा खुलातर्फ प्रदीप थापा द्वितीय र नवीन श्रेष्ठ तृतीय हुनुभएको छ । यस्तै, जुनियरतर्फ बरुण श्रेष्ठ द्वितीय र अनमोल दास तृतीय हुनुभएको छ । सिनियर र जुनियर खेलाडीहरु सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरेको मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा करिब २५ जना खेलाडीको सहभागिता रहेको थियो ।

जुनियरतर्फ १४ वर्षदेखि १७ वर्षसम्मका र सिनियरतर्फ १८ वर्षदेखि ३० वर्षसम्मका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियागितामा सिनियर र जुनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

खेलकुद महासंघका अध्यक्ष सविन मोक्तानको सभाध्यक्ष तथा खेलकुद महासंघका केन्द्रीय महासचिव धरमबहादुर लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा केन्द्रीय सचिव प्रभुनारायण शिवाकोटी र खेलकुद महासंघका जिल्ला इन्चार्ज चन्द्र शाहीको आतिथ्य रहेको थियो ।