लदि पर्वमा बिदा माग गर्दै मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाउँदै माझी समुदायका प्रतिनिधि ।

हेटौँडा : नेपाल माझी उत्थान संघले बागमती प्रदेशमा लदि पर्वमा सार्वजनिक विदा दिन माग गरेको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापनपत्र बुझाउँदै लदि (कोशी) पुजामा सार्वजनिक बिदा दिन माग गरेको हो ।

छ्ट्टै पहिचान र विशेषता बोकेको माझी जातिको प्रमुख पर्व लदि (कोशी) पुजाको अवसरमा फागुण २० गते सार्वजनिक बिदा दिन माग गरिएको हो । उक्त बिदाले सम्पूर्ण आदिवासी लगायत प्रदेशमा बसोवास गर्ने माझी समुदायप्रतिको सम्मान रहने संघका महासचिव बविन्द्रलाल माझीले बताउनुभयो । महासचिव माझीका अनुसार आफ्नो छुट्टै भाषा, धर्म र संस्कार, संस्कृति भएका माझी समुदायको महत्वपूर्ण पर्वमा सार्वजनिक बिदा दिन माग गरेको हो । छुट्टै पहिचानसहित नेपालको मध्य पहाडी, भित्रि मधेश र तराईका जिल्लाहरुमा बसोवास रहेको माझी समुदाय विशिष्ट जाति रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

‘परम्परादेखि नदि, खोलामा निर्भर माझीहरुको पुख्र्यौली पेसा माछा मार्ने र डुंगा चलाउने भए तापनि हाल कृषि पेशालाई मुख्य पेसाको रुपमा अंगालेका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिको वसोवास बढीजसो नदि किनारमा रहेको छ ।’ पत्रमा उल्लेख छ, ‘राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा माझी समुदायको जनसंख्या १ लाख ११ हजार ३५२ रहेको छ । तथापि तराईमा रहने माझीहरुले कुश्वार लेख्ने हुनाले यो संख्या अरु धेरै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ । माझीहरुको कुल जनसंख्या मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ (३७.४२ प्रतिशत) बसोवास गर्दछन् ।’

संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारमा विभिन्न जातजातिको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण र जगेर्ना गर्ने संवैधानिक अधिकार रहेको पत्रमा उल्लेख छ । सोही अनुुसार बागमती सरकारले आफ्नो भुगोल भित्र विभिन्न जातजाति, भाषा भाषीको संस्कृति जगेर्ना गर्नु दायित्व र कर्तव्य भएको संघको भनाइ छ । ज्ञापनपत्र बुझ्नुहुँदै मुख्यमन्त्री लामाले सबै भाषा, धर्म र साँस्कृतिक चाडपर्वको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले भाषा ऐन कार्यान्वयन पश्चात प्रदेशमा रहेका आदिवासी तथा सिमान्तकृत जातिको विषयमा अध्ययन अनुसन्धान कार्यमा काम अघि बढाउन सहज हुने उहाँले बताउनुभयो । बागमती प्रदेश सरकार साँस्कृतिक सम्पदासँगै भाषा, साहित्यलाई पर्यटनका माध्यमबाट प्रवद्र्धन गरी आयआर्जनमा जोड्न प्रयत्नरत रहेको उहाँको भनाई छ । सरकारले लदि पर्वको बिदाको सन्दर्भमा आवश्यक समन्वय गरेर निर्णय लिने उहाँले बताउनुभएको छ ।