Home मुख्य समाचार लदि पर्वमा बिदा माग गर्दै मुख्यमन्त्री लामालाई ज्ञापनपत्र

लदि पर्वमा बिदा माग गर्दै मुख्यमन्त्री लामालाई ज्ञापनपत्र

लदि पर्वमा बिदा माग गर्दै मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाउँदै माझी समुदायका प्रतिनिधि ।

हेटौँडा : नेपाल माझी उत्थान संघले बागमती प्रदेशमा लदि पर्वमा सार्वजनिक विदा दिन माग गरेको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापनपत्र बुझाउँदै लदि (कोशी) पुजामा सार्वजनिक बिदा दिन माग गरेको हो ।

छ्ट्टै पहिचान र विशेषता बोकेको माझी जातिको प्रमुख पर्व लदि (कोशी) पुजाको अवसरमा फागुण २० गते सार्वजनिक बिदा दिन माग गरिएको हो । उक्त बिदाले सम्पूर्ण आदिवासी लगायत प्रदेशमा बसोवास गर्ने माझी समुदायप्रतिको सम्मान रहने संघका महासचिव बविन्द्रलाल माझीले बताउनुभयो । महासचिव माझीका अनुसार आफ्नो छुट्टै भाषा, धर्म र संस्कार, संस्कृति भएका माझी समुदायको महत्वपूर्ण पर्वमा सार्वजनिक बिदा दिन माग गरेको हो । छुट्टै पहिचानसहित नेपालको मध्य पहाडी, भित्रि मधेश र तराईका जिल्लाहरुमा बसोवास रहेको माझी समुदाय विशिष्ट जाति रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

‘परम्परादेखि नदि, खोलामा निर्भर माझीहरुको पुख्र्यौली पेसा माछा मार्ने र डुंगा चलाउने भए तापनि हाल कृषि पेशालाई मुख्य पेसाको रुपमा अंगालेका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिको वसोवास बढीजसो नदि किनारमा रहेको छ ।’ पत्रमा उल्लेख छ, ‘राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा माझी समुदायको जनसंख्या १ लाख ११ हजार ३५२ रहेको छ । तथापि तराईमा रहने माझीहरुले कुश्वार लेख्ने हुनाले यो संख्या अरु धेरै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ । माझीहरुको कुल जनसंख्या मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ (३७.४२ प्रतिशत) बसोवास गर्दछन् ।’

संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारमा विभिन्न जातजातिको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण र जगेर्ना गर्ने संवैधानिक अधिकार रहेको पत्रमा उल्लेख छ । सोही अनुुसार बागमती सरकारले आफ्नो भुगोल भित्र विभिन्न जातजाति, भाषा भाषीको संस्कृति जगेर्ना गर्नु दायित्व र कर्तव्य भएको संघको भनाइ छ । ज्ञापनपत्र बुझ्नुहुँदै मुख्यमन्त्री लामाले सबै भाषा, धर्म र साँस्कृतिक चाडपर्वको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले भाषा ऐन कार्यान्वयन पश्चात प्रदेशमा रहेका आदिवासी तथा सिमान्तकृत जातिको विषयमा अध्ययन अनुसन्धान कार्यमा काम अघि बढाउन सहज हुने उहाँले बताउनुभयो । बागमती प्रदेश सरकार साँस्कृतिक सम्पदासँगै भाषा, साहित्यलाई पर्यटनका माध्यमबाट प्रवद्र्धन गरी आयआर्जनमा जोड्न प्रयत्नरत रहेको उहाँको भनाई छ । सरकारले लदि पर्वको बिदाको सन्दर्भमा आवश्यक समन्वय गरेर निर्णय लिने उहाँले बताउनुभएको छ ।

Exit mobile version