सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा एकैदिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रेपलाञ्चोक, सिन्धुली, धादिङ र रसुवा जिल्लामा विभिन्न घटनामा ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल एरियामा फुटपाथ काम गर्ने एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर बताउने ४५ वर्षीय पुर्ण बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

तामाङ विगत ११ वर्ष देखि काभ्रेपलाञ्चोक धुलिखेल एरियामा फुटपाथ काम गर्दै आएको थिए । तामाङ माघ ६ गते बिरामी भई धुलिखेल अस्पतालमा उपचारका लागि गएकोमा उपचारको क्रममा मंगलबार साँझ ५ बजेर १५ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, पुलबजारमा टिफरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बिहान २ बजेको समयमा अरनिको राजमार्गमा साँगाबाट बनेपा तर्फ जाँदै गरेको बा ५ ख ३२४६ नम्बरको टिफरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टिफरले हाल नामथर नखुलेको अन्दाजी २६ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते पुरुषलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा उपचारको क्रममा २ बजेर ४० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टिफर चालक काभ्रेको बनेपा नगरपालिका–१०, जनागालका २६ वर्षीय रवि श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका–५, बढीमुहानमा पोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजेर २० मिनेटको समयमा सन्त बहादुर वाईबाको १८ महिनाको छोरा आवाश वाईवा पोखरीमा डुबेर अचेत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । बालक घरदेखि एक सय मिटर पर रहेको पानीको पोखरीमा डुबीरहेको अवस्थामा फेला परेका थिए । बालकलाई उपचारका लागि प्राथमिक स्वाथ्य केन्द्र कपिलाकोट लगिएकोमा उपचारको क्रममा दिउँसो ४ बजेर १५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुलीको तिनपाटन गाउँपालिका–११, आपटारमा अचेत अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय रुद्र बहादुर भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ८ बजेको समयमा भट्टराई घरमा कोही कसैलाई नसोधी हिडेका थिए । खोजतलास गर्दै जाँदा मंगलबार दिउँसो ३ बजेको समयमा भट्टराई द्वारखोलाको पानीमा लडेर अचेत अवस्थामा फेला परेका थिए । उपचारका लागि प्राथमीक स्वास्थ्य केन्द्र लाम्पान्टार चकमके लगिएकोमा साँझ ५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

धादिङको धुनिवेशी नगरपालिका–३, छत्रपार्टीमा निशान गाडीको ब्रेक फेल भई सडकबाट खस्दा गाडीमा सवार एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीमा सवार रोल्पाको परिवर्तन गाउँपालिका–५ का ३४ वर्षीय जिवन खड्का रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार राती १० बजेको समयमा धार्के सितापाईला सडक खण्डमा काठमाडौंबाट धार्के तर्फ आउदै गरेको बा ३ क ३०५२ नम्बरको निशान गाडीको ब्रेक फेल भई पल्टँदा जिवनको घटना स्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा गाडीमा सवार काठमाडौंको कृर्तिपुर नगरपालिका–९ मच्छेगाँउका ४२ वर्षीय राजेश आचार्य घाईते भएका छन् । घाइते राजेशको काठमाडौं वीर अस्पताल उपचार भई रहेको छ । गाडी चालक नुवाकोट सुर्यगढि गाउँपालिका–३ का ३२ वर्षीय सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्ले साउने खोलामा ट्रयाक्टर अनियन्त्रित भई सडकबाट खस्दा ट्रयाक्टर चालक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारीका २५ वर्षीय अरवाज महम्मद रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बेलुका ७ बजेको समयमा भित्री सडक खण्डमा आम्बासबाट पारच्याङ तर्फ जाँदै गरेको ना ४ त ९५५२ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई सडकबाट १२० मिटर तल खस्दा चालक अरवाज र १९ वर्षीय धनेश महत्तो घाइते भएको थिए । घाइते दुबैलाई उपचारका लागि त्रिशुली अस्पताल नुवाकोट लगिएकोमा राती ९ बजेर २५ मिनेटको समयमा चालक अरवाजको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।