हेटौँडा : पर्सी शुक्रबार हेटौंडा–१४ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत् “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको हो ।
हेटौँडा–१४ नम्बर वडाका अध्यक्ष दीपक खड्काले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचकमा पूरा भएसँगै बालमैत्री वडा घोषणा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । ५१ वटा सूचकमध्ये ४७ वटा सूचकमा सत्प्रतिशत, र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने चरणमा आइपुगेको अध्यक्ष खड्काले बताउनुभयो ।
घरधुरी तथ्यांक संकलन सर्वेक्षण-२०७९ अनुसार १८ वर्ष मुनिका २ हजार ४ सय ९४ बालबालिका छन् । जसमा एक हजार २ सय ६७ बालक र एक हजार २ सय २७ बालिका रहेका छन् । कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ४८ दशमलव ४४ प्रतिशत बालिका र ५१ दशमलव ५५ प्रतिशत बालक रहेका छन् ।
सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्रसहित ६ वटा विद्यालय सञ्चालनमा रहेको अध्यक्ष खड्काले बताउनुभयो । २२ वटा बाल समूह र एक वडा बाल सञ्जाल रहेका छन् । जसमा ५ सय ५० जना बालबालिका आवद्ध छन् भने विभिन्न संरचनागत समितिमा समेत गरी ५ सय ७० बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह हेटौंडा-१४ स्थित भृकुटी माध्यमिक विद्यालयमा हुनेछ ।