हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सूचना प्रभाव भएका कारण नागरिकले दुःख भोग्नु नपर्ने बताउनुभएको छ । सोमबार रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले सञ्चार माध्यमबाट सहि ढंगबाट सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री लामाले सूचना नै सबैभन्दा महत्वपूर्ण भएकाले सही सूचना प्रवाह गरेर जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चार माध्यम विकृत नभएर सकारात्मक तरिकाले चल्न जरुरी रहेको बताउनुभयो । रेडियोलगायतका सञ्चार माध्यमले नागरिकसम्म सूचना पु¥याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।
पहिला मोबाइल फोन नहुँदा सबैजसो सूचना रेडियोले प्रवाह गर्ने गरेको उहाँले बताउनुभयो । नागरिकलाई सचेत र सुसूचित बनाउन सञ्चार माध्यमले ठूलो भूमिका निर्वाह गरेका कारण यसलाई राज्यको चौथो अंग मानिएको उहाँले धारणा राख्नुभयो । वास्तविक र यथार्थ तथ्यमा आधारित भएर सबै रेडियोले सूचना प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले राज्यले हरेक ठाउँमा गरेको कार्यलाई सञ्चार माध्यमले सम्प्रेषण गर्ने गरेको बताउनुभयो । सञ्चार माध्यमले राज्यका ३ वटा अंगको बारेमा सूचना प्रवाह गर्ने गरेकाले पनि पत्रकारितालाई देशको चौथो अंगको रुपमा मान्ने गरेको धारणा राख्नुभयो । सुरक्षा र चुनौती भएता पनि समाजमा भएको विसङ्गति र विकृतिका कुरालाई प्रवाह गर्ने गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
वार्षिकोत्सवको अवसरमा रेडियोले हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयमा सेनेटरी प्याड र हेटौंडा–१० स्थित संस्कृत वेद विद्यालयमा खाद्यान्न सामग्री वितरण गरेको छ । यस्तै, मिडियाकप फुटसल प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर र पहिलो सहिदका परिवारलाई १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गर्दै वार्षिकोत्सव कार्यक्रम मनाइएको रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारीले बताउनुभयो । कार्यक्रममा फुटसल प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
रेडियो मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्ष तथा मुख्यमन्त्री लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण भएको हो । रेडियो मकवानपुरको वार्षिकोत्सवको समापन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतको आतिथ्य रहेको थियो ।