बागमती प्रदेश सभा बैठकमा सहभागी प्रदेश सभा सदस्यहरु ।

हेटौँडा : बागमती प्रदेशसभामा ५ विधेयक पेश भएको छ । बुधबार बसेको बैठकमा प्रदेशसभा सचिवालय हेटौंडामा संशोधनका लागि दर्ता भएको ४ र प्रदेश प्रमुखबाट फिर्ता भएको एक विधेयक सहित संसदमा पेश भएको हो ।

बैठकमा स्वास्थ्य मन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्नुभएको थियो भने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन संशोधन विधेयक पेश गर्नुभएको थियो ।

त्यस्तै बैठकमा उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्नुभएको थियो ।

बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाबाट फिर्ता भइआएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः विचारका लागि संसदमा पेश भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले उक्त विधेयकमा प्रदेश प्रमुख देवकोटाले औल्याएका कमजोरी र सुझावको प्रतिवेदन सहित संसदमा पेश गर्नुभएको थियो ।

सो विधेयकहरु प्रदेशसभाको यसै अधिवेशनमा पारित गर्ने तयारी रहेको छ । सोही अनुुसार उक्त विधेयकहरु माथि प्रदेशसभाको बुधबार (आजै) बस्ने दोस्रो बैठकमा संद्धान्तिक पक्षहरु माथि छलफल हुने कार्यसूचि रहेको छ । प्रदेशसभाको बैठक आजै १ः३० बजेसम्मका लागि स्थगित गरिएको छ ।