हेटौंडा : मकवानपुरको थाहा नगरपालिकामा अन्तरवडास्तरीय मेयर कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । थाहा नगरपालिकाको आयोजना तथा वडा नम्बर–११ स्थित ऋषेश्वर फुटबल क्लबको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेलमा वडा नम्बर–८ ले विजयी सुरुवात गरेको छ । वडा–९ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै वडा–८ ले विजयी सुरुवात गरेको हो । खेलको म्यान अफ द म्याच सुदीप थिङ घोषित भएका छन् ।

मंगलबारै भएको दोस्रो खेलमा ४ नम्बर वडाले जीत निकालेको छ । ११ नम्बर वडालाई ३–० गोल अन्तरले हराउँदै ४ नम्बर वडाले विजयी सुरुवात गरेको हो । ४ नम्बर वडाको तर्फबाट साहिल लामाले २ गोल र सुपु लामाले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच २ गोलकर्ता लामा घोषित भएका छन् ।

प्रतियोगिताका लागि प्रथम पुरस्कारको प्रायोजन बानियाँ निर्माण सेवाले गरेको छ भने दोस्रो पुरस्कारको प्रायोजन नेपाली काँग्रेस महासमितिका सदस्य जयराम लामिछानेले गर्नुभएको छ । यस्तै, अर्जुन बस्नेतले प्रतियोगिताको विजेताका लागि शिल्ड र मेडल सहयोग गर्नुभएको ऋषेश्वर क्लबका सचिव सन्तोष कार्कीले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा ११ वटा वडाहरुको सहभागिता रहेको सचिव कार्कीले बताउनुभयो । प्रतियोगिता अन्तर्गत बुधबार ३ वटा खेलहरु हुनेछ । पहिलो खेलमा वडा–६ र वडा–७ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा वडा–३ र वडा–१० बीच प्रतिस्पर्धा हुनेछ । यस्तै, तेस्रो खेलमा वडा–१ र वडा–२ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडी र प्रत्येक खेलको म्यान अफ म्याचका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल माघ २६ गते हुनेछ ।

क्लबका अध्यक्ष दीपक कार्कीको सभाध्यक्ष तथा थाहा नगरपालिकाका मेयर विष्णु विष्टको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको हो । उद्घाटन कार्यक्रममा नगरपालिकाका उपमेयर भरत गोपालीको विशिष्ट आतिथ्य रहेको थियो ।