बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा

हेटौँडा : बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले विपद् प्रभावित क्षेत्रको व्यवस्थापनमा सरकारको उपस्थिती फितलो भएको बताउनुभएको छ । सरकार विपद् लगत्तै उपस्थिती देखाएर आश्वासन दिएपनि सम्बोधन हुन नसकेको उहाँले बताउनुभयो ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समय माग गर्दै सांसद लामाले आम नागरिकको समस्या सुन्ने अवस्था बनेन भने राज्य प्रति वितृष्ण पैदा हुने बताउनुभएको छ । नागरिकको समस्यामा सरकारमा रहेका मन्त्री र नेतृत्वकर्ताहरुले गम्भिरताका साथ अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । विपद् प्रभावित क्षेत्रको व्यवस्थापन र पुनः निर्माणका लागि बागमती प्रदेश सरकारले गम्भिरताका साथ काम गर्नुपर्ने उहाँको भनाई छ । उहाँले आगामी बजेटमा काभ्रेका विपद् प्रभावित क्षेत्रलाई प्राथमिकतामा राख्न समेत माग गर्नुभएको छ ।

उहाँका अनुुसार गत असोज १० देखि १२ गतेसम्मको वर्षका कारण काभ्रेको ४ स्थानीय तह (पनौति, रोशी, बेथानचोक र नमोबुद्ध) सहित अन्य ९ पालिकामा विपद्को क्षती बढी भएको छ । विपद्का कारण उक्त स्थानीय तहहरुमा सडक पूर्वाधार, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा क्षती पुगेको उहाँले बताउनुभयो । रोशी खोलाको उचाई ४ इन्च बढेकाले विपद्को जोखिम उच्च बनेको उहाँको भनाई छ । उक्त विपद् प्रभावित स्थानीय तहको पुनः निर्माणमा सरकारको ध्यानाकर्षण गर्न सभामुखले रुलिङ गर्न उहाँले आग्रह गर्नुभयो ।

‘विपद्का कारण विपी राजमार्गको ९ किलोमिटर सडक पूर्ण रुपमा क्षती भएको छ । सो राजमार्ग वर्षा याममा चल्न सक्ने अवस्था छैन ।’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको उक्त क्षेत्रको विषयमा पनि ध्यान दिनुपर्छ । त्यससंगै नमोबुद्ध र रोशी गाउँपालिका जोड्ने थान्सिङ बेसीमा रोशी खोलामा मोटरेबल निर्माणका लागि सरकारले तत्काल डिपिआर लगायतको काम अघि बढाउन आग्रह गर्दछु ।’