पुरस्कार वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडामा शनिबार सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषतर्फ रुपेश जैसवाल र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन बनेका छन् । नेपाल बुद्धिचाल महासंघले ११ चरणको राउण्ड रोविन आधारमा प्रतियोगिता आयोजना गरेको हो ।

एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश जैसवाल ९ अंक जोडेर २५ औं राष्ट्रिय चेस च्याम्पियन बन्नुभएको हो । उहाँको यो दोस्रो राष्ट्रिय उपाधि हो । रुपेशले चौथो वरियताबाट खेल प्रारम्भ गर्नुहुँदै सात जीत, चार बराबरी खेल्नुभयो । उहाँले आफ्नो व्यक्तिगत रेटिङ्ग २०९३ बाट खेल शुरु गरेर ३०.२ रेटिङ्ग बढाउनुभएको छ । समग्रमा उहाँको उत्कृष्ट रेटिङ्ग पर्फर्मेन्स २२११ रह्यो ।

युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोश्रो बन्दै प्रतिस्पर्धा अन्त्य गर्नुभएको छ । वर्तमान नेपाल च्याम्पियन राजन सुवेदीसँग समान ८.५ अंक बनाउनु भएका पुरुषोत्तमको ३७.२५ टाइब्रेक प्वाइन्ट र राजन ३६.२५ मा सीमित हुनुभयो । झापाका राजन तेस्रो स्थानमा रहनुभयो । मकवानपुरका एफएम क्षितिज भण्डारीले ८ अंक बनाई चौथो स्थान प्राप्त गर्नुभएको छ । दोलखाका आशिष फूँयाल ७ अंक जोडेर पाँचौ स्थानमा रहनुभयो । झापाका सिएम शुश्रुत दहाल ६.५ अंक सहित सातौं, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ६ अंकसहित आठौं, प्रेमकृष्ण महर्जन नवौं र ललितपुरका सुरोज महर्जन दशौं हुनुभयो ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भएको १० औं महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले ९ अंक बनाउनुभयो । उहाँले उत्कृष्ट खेल खेल्नुहुँदै उपाधि जोगाउन सफल हुनुभयो । लामो समय चेस खेलमा व्यतित गर्नुभएकी पुनम प्रसाईंले ८ अंक जोडेर दोश्रो स्थान हासिल गर्नुभयो । निकै कडा प्रतिस्पर्धामा झापाकी पुनमले टाइब्रेक प्वाइन्ट ३८.७५ प्राप्त गरी दोस्रो हुनुभएको हो ।

बाँकेकी इशा गिरीले ८ अंक टाइब्रेक प्वाइन्ट ३६.२५ का आधारमा तेस्रो स्थान हासिल गर्नुभयो । उदीयमान इशाले पहिलो प्रयासमा नै नेपाल तृतीय बन्नुभएको हो । काठमाडौँकी एञ्जल महर्जनले समान ८ अंक जोडेर चौथो स्थानमा रहने क्रममा अप्रत्याशित उत्कृष्ट खेल प्रदर्शन गर्नुहुँदै ३५ टाइब्रेक प्वाइन्ट बनाउनुभयो । यसैगरी मोरङकी शान्ति धिमाल ७.५ अंकसहित पाँचौं, झापाकी कृतिसारा अधिकारी ६.५ अंकसहित छैठौं, कीर्तिपुरकी बिनिता कपाली ६ अंकसहित सातौं, बाराकी सुशीला गुरुङ ५.५ अंकसहित आठौं, चितवनकी लक्ष्मी कँडेल नवौं र काठमाडौंकी निहाना श्रेष्ठ दशौं हुनुभयो ।

शनिबार नै महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभाध्यक्षतामा सम्पन्न तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । बाग्मती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्य रहेको समापन समारोहमा वरिष्ठ खेल पत्रकार कान्तिपुर राष्ट्रिय दैनिकका ध्रुव कुमार तुलाधर र गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, साउथ एशियन चेस फेडेरेशनका अध्यक्ष एवम् अल इण्डियन चेस फेडेरेशनका कोषाध्यक्ष धर्मेन्द्र कुमार, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, प्रवक्ता राजु ताम्राकार, एफए सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।