उपाधिसाथ कमाने टाइगर्सको टिम ।

हेटौँडा ः कमाने क्रिकेट क्लबको आयोजनामा भएको तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने टाइगर्सले जितेको छ । शनिबार हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा कमाने रोयल्सलाई ४ रनले हराउँदै कमाने टाइगर्सको टिमले उपाधि चुम्मेको हो ।

प्रतियोगिताको उपाधि विजेता कमाने टाइगर्सले ५० हजार रुपैयाँ र उपविजेता कमाने रोयल्सले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । टस हारेर पहिले व्याटिङ्ग गरेको कमाने टाइगर्सले निर्धारित १० ओभरमा सबै विकेटको क्षतिमा ८७ रन जोड्न सफल भएको थियो । सञ्जिव थापाले जवाफी व्याटिङ्गमा उत्रिएको कमाने रोयल्सले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ८३ रन मात्र जोडेको थियो ।

प्रतियोगिता आयोजनाका लागि ८ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको थियो । प्रतियोगिताका लागि प्रथम पुरस्कार जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले प्रायोजन गर्नुभएको थियो भने म्यान अफ द म्याचको पुरस्कारको प्रायोजन इ प्लानेटका ब्राञ्च म्यानेजर सुमनराज भारती गर्नुभएको थियो ।