हेटौंडा: माघ ११ गते शुक्रबार हेटौँडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत् वडाका वडाध्यक्ष सविन न्यौपानले “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिनुभयो । नकौली आधारभूत स्वास्थ्य केन्द्र, बाँझोडाँडाको परिसरमा निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम हुने उहाँले बताउनुभयो ।
१ नम्बर वडा पूर्ण खोपयुक्त वडा घोषणा, पूर्ण साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भइसकेको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको वडाअध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । बाल बचाऊ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता साथै यसका लागि संस्थागत विकासमा समेत गरेर ५१ वटा सूचक पूरा गरेको उहाँले बताउनुभयो । ५१ वटा सूचकहरुमध्ये ४७ वटा सूचकमा १०० प्रतिशत १ वटा सूचकमा ९६ प्रतिशत र १ वटा सूचकमा ९० प्रतिशत, १ वटा सूचकमा ८५ प्रतिशत र १ वटा सूचकमा ८२ प्रतिशत सूचक हासिल गरेको वडाध्यक्ष न्यौपानले बताउनुभयो ।
घरधुरी तथ्यांक संकलन सर्वेक्षण–२०७९ अनुसार वडामा १८ वर्ष भन्दा कम उमेरका १ हजार ४५ बालक र ९ सय ६९ बालिका गरी २ हजार १४ बालबालिका छन् । वडामा ५ सामुदायिक र १ संस्थागत बाल विकास केन्द्रसहित ६ वटा विद्यालय सञ्चालनमा रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । १८ वटा बालसमूहहरु र १ बाल सञ्जाल छन् । जसमा ३ सय ६३ जना बालबालिका आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरेर ४ सय ४ जना बालबालिका प्रत्यक्ष सहभागिता रहेको उहाँको भनाई छ ।
वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूह, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह साथै विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील छन् । २०८७ सालसम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ ।